अन्तर्राष्ट्रिय

भारतमा एक घण्टा ३१ मिनेटको बजेट भाषण‚ आर्थिक चुनौतीहरू सामना गर्न सक्षम रहेको दावी

१८ माघ, नयाँदिल्ली । भारतमा अर्थमन्त्री निर्मला सितारमणले सन् २०१९ पछिकै सबैभन्दा छोटो बजेट भाषण गरेका छन्।

मंगलबार संघीय संसद्‌मा गरिएको बजेट भाषण एक घण्टा ३१ मिनेट मात्रको रहेको थियो । जबकी अघिल्लो वर्षको बजेट भाषण एक घण्टा ४८ मिनेटको रहेको थियो । त्यसैगरी सन् २०२० को बजेट भाषण भने दुई घण्टा ४० मिनेटको रहेको थियो ।

अर्थमन्त्री सितारमणले लोकसभामा मंगलबार सन् २०२२—२३ को बजेट भाषण प्रस्तुत गर्दै विभिन्न योजना तथा कार्यक्रमहरू सार्वजनिक गरेका छन् ।

मंगलबार सार्वजनिक गरिएका योजना तथा कार्यक्रमहरूबाट भारतको अर्थतन्त्र बलियो हुने र आगामी २५ वर्षका लागि आधार तय हुने उनले दावी गरेका छन् ।

अर्थमन्त्री सितारमणले आगामी चुनौतीहरू सामना गर्न भारत सक्षम अवस्थामा रहेको पनि बजेट भाषणका क्रममा उल्लेख गरे ।

भारतले सार्वजनिक लगानी बढाउदै आधुनिक भौतिक संरचनाहरू निर्माणका लागि कार्यक्रमहरू केन्द्रित गरेको उनको भनाई थियो ।

आगामी वर्षका लागि बजेटको अर्को मुख्य प्राथमिकताको क्षेत्र “प्रधानमन्त्री गति शक्ति” कार्यक्रम रहेको पनि उनले जानकारी दिए ।

गति शक्ति कार्यक्रम अन्तर्गत सडक‚ रेलमार्ग‚ विमानस्थल‚ बन्दरगाह‚ ढुवानी मार्ग‚ जलमार्ग लगायतको विकास‚ निर्माण र स्तरोन्नति गर्ने योजनाहरू समावेश गरिएको छ ।

भारतको संघीय सरकारको मन्त्रिपरिषद्ले मंगलबार नै बजेट प्रस्ताव पारित गर्दै संघीय संसद्‍मा पेश गर्ने निर्णय गरेको थियो ।

बजेट प्रस्तुत गर्नुअघि अर्थमन्त्री सितारमणले राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गरेका थिए । प्रस्तुत बजेटका बारेमा सरोकारवाला तथा विज्ञहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।

बजेट प्रस्तावमाथिको पहिलो चरणको छलफल आगामी फेब्रअरी ११ सम्म गर्ने र दोस्रो चरणको छलफल मार्च १४ देखि अप्रिल ८ सम्म गर्ने तालिका बनाइएको संसद् सचिवालयले जनाएको छ ।