२९ माघ, धरान । सत्ता गठबन्धन दलले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बैशाख ३० गते हुनगईरहेको स्थानीय तहको निर्वाचनबारे छलफल गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा निजकै निवासमा बैठक बसी छलफल गरेको हो ।
बैठकले हाल सरकारले गरेको निर्णय समिक्षा गर्नु पर्ने सम्बन्धमा छलफल गरेको छ । बहालवाला पदाधिकारीहरुलाई यथावत राखेर प्रतिष्ठानको काम गर्ने गरी कर्मचारी तोकेको विषय अदालतमा विचाराधीन रहिरहेको अवस्थामा पछिल्लो पटक मन्त्रीस्तरीय निर्णय गरी पुनः उनै कर्मचारीलाई थप अधिकार प्रत्यायोजन गरिनु वैधानिक र व्यवहारिक हुन नसक्ने बैठककले शंका गरेको छ । सरकारले संचालक परिषदको बैठकमा जोड दिई विद्यमान कानुनी व्यवस्थालाई टेकेर संचालक परिषद वा अन्य संवैधानिक वाटो अपनाई प्रतिष्ठानको समस्या तत्काल हल गर्न राजनीतिक दलको तहवाट पनि पहल गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने नगर्ने बारेमा पनि छलफल भएको छ । छलफलमा नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न प्राविधिक मात्र नभई व्यवहारिक रुपले पनि कठिनाई हुने भन्दै तालमेल गर्न उपयुक्त नहुने तर्क गरेका छन् भने अन्य दलले कार्यकर्ता र मतदातामा एकखाले मनोविज्ञान पैदा हुने भन्दै लामो समय अन्यौलतामा नबसी तालमेल गर्ने नगर्ने सम्बन्धमा समयमै निर्णय हुनुपर्ने विचार राखेका छन् ।
बैठकमा नेपाली कांग्रसका १ नं प्रदेश महामन्त्री उमेश थापा, सुनसरी जिल्ला सचिव माधव घिसिङ, प्रदेशसभा १९१० र १९२० का सभापतिद्धय अनिल श्रेष्ठ र मुरारी भट्टराई, धरान नगर सभापति श्याम पोखरेल, क्षेत्रीय सचिव केशव पुरी र क्षेत्रीय सहसचिव सुमित राईको उपस्थिति रहेको थियो ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका १ नं प्रदेश सदस्य अवइन्द्र वेघा, धरान नगरका वरिष्ठ सदस्य चोत्लुङ, पूर्व जिल्ला सदस्य अशोक राईको उपस्थिति रहेको थियो ।
त्यसैगरी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भिम राई र धरान नगर सभापति ताजुव लिम्वुको उपस्थिति रहेको थियो ।





