आर्थिक

वैदेशिक रोजगार बोर्ड पनि अब NPI मा आबद्ध

५ फागुन, काठमाडौं । वैदेशिक रोजगार बोर्डले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट इन्टरफेसमा जोडिई भुक्तानीहरु पूर्ण स्वचालित रुपमा गर्न दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा वैदेशिक रोजगार बोर्डका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात वैदेशिक रोजगार बोर्डले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआईसँग जोडी सोझै लाभग्राहीहरुको बैंक खातामा भुक्तानी गर्न सक्नेछ । यसले वैदेशिक रोजगारीमा अपाङ्गता अथवा मृत्यु भएका कामदारहरुको क्षतिपूर्तीको भुक्तानी, भेण्डर भुक्तानी, लगायत सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनेछ । सम्झौता अघि सम्पूर्ण भुक्तानी कारोबारहरु चेक मार्फत गरिने गरिन्थ्यो । यसले बोर्डको सेवा प्रवाहमा उल्लेख्य सुधार आउनुका साथै पीडित परिवारले सहज रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायलाई प्रवद्र्धन गर्न, सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा बैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण गर्ने प्रयोजनले बैदेशिक रोजगारबोर्डको स्थापना गरेको हो । आफ्ना विभिन्न प्रकृया तथा सेवाहरु डिजिटाइज गर्ने क्रममा बोर्डले नीतिगत सुधार र व्यवस्था गर्दै आएको छ । साथै, बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारहरुले कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकमको संकलन connectIPS मार्फत पनि गर्दै आएको छ ।

थप जानकारीको लागि www.nchl.com.np तथा www.connectips.com हेर्नुहोला ।