२५ फागुन, काठमाडौं । लाङ्टाङ राष्ट्रिय निकुञ्ज रसुवाले आफ्ना कार्यक्षेत्रका वनजङ्गलबाट बरामद गरेको हतियार आज एक कार्यक्रमबीच रसुवा प्रहरीलाई बुझाएको छ । जिल्ला समन्वय प्रमुख, रसुवाका प्रमुख जिल्ला अधिकारी, विष्णुदल गणका गणपति, नेपाली कांग्रेसका सभापति, नागरिक समाजका अध्यक्ष, गोसाइँकुण्ड, नौकुण्ड र कालिका गाउँपालिका अध्यक्ष तथा पत्रकारसमेतको रोहवरमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराइले ठूला तथा साना १३ थान बन्दुक एवं दुई वटा बन्दुकको नाल जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दलाई हस्तान्तरण गरेका हुन् ।
ती बन्दुक रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा अवस्थित लाङ्टाङ राष्ट्रिय निकुञ्जको वनजङ्गलमा अवैध क्रियाकलाप गर्ने व्यक्तिबाट बरामद गरिएको र सुरक्षाका हिसाबले जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको निकुञ्जले जनाएको छ ।
संरक्षणका लागि रसुवा प्रहरीले बुझेका ती हतियार अधिकांश थोत्रिएकाले मर्मत गर्नुपर्ने अवस्थामा रहेको प्रहरी प्रमुख चन्दले बताए । निकुञ्ज संरक्षणका लागि नेपाली सेनासहितको गस्ती टोलीद्वारा नियमित जङ्गल गस्तीका क्रममा अवैध क्रियाकलाप गर्ने बन्दुकधारी एकाधरूपमा फेला पर्ने र त्यस्ता व्यक्तिलाई निकुञ्जले कानूनी दायरामा ल्याई बरामद भएका सामग्रीको प्रक्रियागतरूपमा व्यवस्थापन गर्दै आएको बताइएको छ ।
यस्तै लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको जैविक विविधता संरक्षणमा सहभागिता जुटाउन सरोकारवाला निकायसँग एक अन्तक्र्रियासमेत सम्पन्न भएको छ । वन वनस्पति, वन्यजन्तुलगायत समग्र जैविक विविधता संरक्षणका विषयमा गत विगतका समीक्षात्मकसहित सुधारका विषयमा विशेष छलफल भएको थियो ।
स्थानीय तह एवं सरोकारको रायसुझाव लिई आगामी कार्यदिशा थप मजबुत पार्ने अभिप्रायले निकुञ्ज कार्यालयद्वारा गरिएको प्रयास अत्यन्तै राम्रो भएको बताउँदै जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले कार्यक्षेत्रमा लाग्ने निकुञ्ज प्राविधिकको उच्च प्रशंसा गरे ।
निकुञ्जको संरक्षणमा आइपर्ने समस्या समाधान गर्न स्थानीय प्रशासन सदैव तयार गरेको बताउँदै रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले धार्मिकस्थल गोसाइँकुण्डको होटल सञ्चालनमा निगरानी बढाउन निकुञ्ज प्रशासनलाई आग्रह गरे ।
गोसाइँकुण्डका होटल सञ्चालन गर्ने व्यवसायीले आफूखुसी लागू गरेका एकद्वार नीति हटाई तीर्थस्थलमा रहेका चारवटै होटल खुला गराउन पूर्ववत्रूपको निर्देशन कार्यान्वयन नगरी शिवरात्रि पर्वमा अनुगमन गर्दा एउटा मात्र होटल खोलेको पाइएकाले पूरै होटल खुलाउन निकुञ्जलाई निर्देशन दिए ।
व्यवसायीको मिलेमतोबाट एउटा मात्र होटल खोली तीर्थ गर्न गोसाइँकुण्ड पुगेका यात्रुलाई असहज तरिकाले बास राख्ने र शुल्क भने बढी असुल्ने गुनासो आइरहेको अवस्था रहेकाले पहिलो चरणअन्तर्गत निकुञ्ज कार्यालयमार्फत खुलाउन प्रयास गर्ने र यदि अटेर गरे जिल्ला प्रशासनद्वारा कडा कारवाही गर्ने जानकारी दिए ।





