२३ चैत, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धर्म र संस्कृति सबैका साझा सम्पत्ति भएको बताएका छन्। श्रीकृष्ण प्रणामी सेवा समिति नेपालले आयोजना गरेको चर्तुथ शताब्दी महोत्सवमा उनले नेपालमा बसोबास गर्ने सबै नागरिकहरुलाई आ–आफ्नो धर्म, संस्कृतिको रक्षा तथा जगेर्ना गर्ने अधिकार रहेको बताए । उनले भने, “आफ्ना धर्म, संस्कृतिको रक्षा र जगेर्ना गर्न सबैलाई अधिकार छ, धर्म, संस्कृति सबैका साझा सम्पत्ति हुन् ।”
मन्त्री आलेले श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको वृद्धि विकास तथा संरचना निर्माणका लागि आफूले बजेटको व्यवस्था गर्ने आश्वासनसमेत दिए । उक्त समितिमा रहेको ४५ रोपनी जमिनमा पर्खाल निर्माणका लागि आवश्यक पर्ने बजेट पनि आगामी वर्षको बजेटमा विनियोजन गराउनेसमेत मन्त्री आलेले जानकारी दिए।
यसैक्रममा मन्त्री आलेले पशुपतिनाथको थप वृद्धि विकासका लागि गुरुयोजना तयार गरी काम अगाडि बढाउन तयारी भएको जानकारी दिए । पशुपति क्षेत्रमा काजक्रिया गर्ने क्रियापुत्रीहरुलाई नुहाउँदा चिसो, फोहर पानी र दूषित पानी भएको र अब त्यहाँको पानी ‘क्युरिफाइ’ गरी उनीहरुका लागि शुद्ध र सफा पानीको व्यवस्था मिलाउन लागिएको मन्त्री आलेले बताए।
पशुपतिनाथ क्षेत्रमा रहेको विश्वरुपा मन्दिर निर्माणका लागि रु ५५ करोडको टेण्डर भइसकेको र अब छिट्टै शिलान्यास गरिनेसमेत उनले जानकारी दिए । दुई वर्षदेखि विभिन्न बाधा अवरोधका कारण रोकिएको उक्त मन्दिर निर्माणको कार्य आफू मन्त्री भएर आएपछि सुरु गराएको मन्त्री आलेले दाबी गरे।
यसैगरी मन्त्री आलेले विभिन्न धार्मिक स्थलका भवन तथा जमिनहरु केही ठाउँमा कौडीका भाउमा विगतको सरकारले दिएका र कहीँ हडप्ने काम भएकाले ती हडपिएका र कौडीका भाउमा दिएका भवन र जमिन सबै फिर्ता ल्याएरै छाड्ने बचन बद्धता गरे ।





