२५ चैत, कैलाली । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा आजदेखि ‘फारवेस्ट ट्राभल मार्ट’ सुरु भएको छ ।
नेपाल पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोग तथा धनगढी उपमहानगरपालिका र नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा सुरु भएको फारवेस्ट ट्राभल मार्टको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरे । उद्घाटन समारोहमा उनले धनगढीमा पर्यटन बोर्डको कार्यालय स्थापना गरेर काम थालेको जानकारी दिए।
उनले भने, “सुदूरपश्चिम प्रदेशमा भएका हरेक पर्यटकीय गन्तव्यस्थलबारे पर्यटकलाई जानकारी गराइनेछ ।” चाँडै नै कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा टुरिज्म सेन्टर सुरु गरिने बताए । मन्त्री आलेले टीकापुर विमानस्थल, दार्चुलाको गोकुलेश्वर विमानस्थल, अछामको कमलबजारस्थित विमानस्थललगायतलाई पक्की बनाउन बजेटको व्यवस्थापन गरिएको बताए ।
कार्यक्रमका संयोजक मायाप्रकाश भट्टले प्रचारप्रसार गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । मार्ट यही चैत २७ गतेसम्म सञ्चालन हुनेछ ।





