१० वैशाख, विराटनगर । सुनसरीको बर्जु गाउँपालिकास्थित सबल साना किसान कृषि सहकारी संस्था लिमिटेडले ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
कृषि व्यवसायलाई प्रवद्र्धन गर्ने प्रमुख उद्देश्य लिएर स्थापना भएको ती संस्थाले बचत तथा ऋण सेवादेखि कृषिलाई व्यवसायीक बनाउन आवश्यक उन्नत मल, बीउ, प्राविधिक सेवा र बजार व्यवस्थापनका काममा प्रभावकारी भूमिका खेल्न थालेका छन् । यसका साथै सो संस्थाले आगामी वर्षदेखि प्रवाह गर्ने सेवा र सुविधामा वृद्धि गर्दै लैजाने नीति लिएको बताइएको छ ।
झन्डै तीन वर्षअघि स्थापना भएको सो संस्था साना किसानलाई एकीकृत गरी बचत र ऋण लगानी गर्ने तथा कृषि उत्पादन बढाउन र बालीमा विविधता ल्याउने प्रयासमा केन्द्रीत भएको देखिन्छ । किसानको जीवनस्तर उकास्न हरेक प्रयास र सम्भावनाको खोजीमा रहेको यो संस्थाका अध्यक्ष इन्द्रजीत चौधरीले बताए।
कृषिको विकास र विस्तार विना मुलुकमा समृद्धि आउन नसक्ने र उत्पादनमा पनि आत्मनिर्भर बन्न नसक्ने भएकाले यसतर्फ प्रदेश सरकारको ध्यान जानुपर्ने उनको भनाइ छ । अध्यक्ष चौधरीले खेतीपाती गर्न किसानलाई आवश्यक पर्ने कम्बाईन हार्डवेस्टर, सीड ह्वील, ५५ एचपीको ट्रयाक्टर, लेजर ल्याण्ड लेभरल, रिपर, रोटा भेटर, कल्टिभेटरजस्ता उपकरण उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरे।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि कृषिमा यान्त्रिकीकरण गर्ने सरकारको लक्ष्य रहेकाले सो उपकरण एवं मेसिनको आवश्यकता रहेको अध्यक्ष चौधरीले बताए । लगभग एक हजार २०० कृषक आबद्ध रहेको सो संस्थामा दुई हजारभन्दा बढी हेक्टर जग्गामा खेती गर्ने गरेका छन् । संस्थाले यहाँका किसानले उत्पादन गरेका धान सरकारले तोकेको समर्थन मूल्यमा खरिद गरी भण्डारण गर्ने गरेका छन् ।
भण्डारण र यान्त्रिकीकरणका लागि संस्थाले सोही ठाउँमा चार कठ्ठा पाँच धुर जग्गा खरिद गरिसकेको छ । सरकारले तोकिएको समर्थन मूल्यमा संस्थाले किसानबाट गत वर्षमा १२ हजार क्वीन्टल धान खरिद गरेको थियो । संस्थाले विभिन्न बैंकमार्फत किसानलाई धानको खरिद मूल्य भुक्तानी गरेको थियो । ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेवापत सो संस्थालाई साना किसान सहकारी बैंकले परिपक्कताको प्रमाणपत्र तथा जिल्ला सहकारी सङ्घ सुनसरीले पुरस्कृत गरिएको छ ।
स्थानीय किसानको आवश्यकता र मागको आधारमा संस्थाले कूल रु चार करोड ७२ लाख बचत र रु आठ करोड ४५ लाख ऋण प्रवाह गरेको संस्थाका व्यवस्थापक पद्मबहादुर चौधरीले जानकारी दिए । बैंकको झन्झटिलो र प्रक्रियागत ढिलाईका कारण ऋण लिन समस्या भोगिरहेका किसानका लागि यो संस्था सहज भएको उनको भनाइ छ । “समस्यामा परेका बेलामा किसान ऋण लिन आउँछन्”, उनले भने, “किसानको आवश्यकता र मागका आधारमा संस्थाले ऋण अउपलब्ध गराउँदै आएको छ ।”
अन्य बैंकसँग ऋण लिएर पनि किसानको समस्या सम्बोधन गर्ने गरेको व्यवस्थापक चौधरीको भनाइ छ । छरिएर रहेका किसानलाई एकीकृत गर्न संस्था सफल भएकोमा उनले खुसी व्यक्त गरे ।
यहाँका किसान सीतागञ्ज शाखा नहर, चन्दा मोहन नहर, बोरिङ र आकाशे पानीको भरमा खेती गर्ने गरेका छन् । संस्थाले भण्डारण गर्न बनाउने गोदाम घरका लागि धेरै रकम चाहिने भएकाले प्रदेश सरकारले सहयोग गर्नुपर्ने अध्यक्ष चौधरीको भनाइ छ ।
प्रदेश नं १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिमिल्सिेनाले ग्रामीण क्षेत्रमा कृषकले गरेको मेहनत र प्रयासलाई परिणामुखी बनाउन कृषकको जायज मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।





