गण्डकी प्रदेश

एकै वडाका चार महिला एउटै पदमा चुनाव लड्दै

१५ वैशाख, गलेश्वर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको एक स्थानीय तहमा एकै वडाका चार महिलाले अलग अलग दलबाट एउटै पदमा उम्मेदवारी दिएका छन । बेनी नगरपालिकाको उपप्रमुखमा एउटै वडाका चार महिलाले उम्मेदवारी दिएका छन।

उपप्रमुखमा मनोनयन दर्ता गराएका अमृतदेवी बानियाँ, पशुपति शाही, ज्योति लामिछाने र मुना बानियाँ बेनी नगरपालिका–६ निवासी हुन । बानियाँले नेपाली कांग्रेसबाट, शाहीले नेकपा (एमाले)बाट, लामिछानेले नेकपा (माओवादी केन्द्र)बाट र मुनाले नेकपा (एकीकृत समाजवादी)बाट उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन । 

कांग्रेसबाट उम्मेदवार बनेकी अमृतदेवी पार्टीको गण्डकी प्रदेश समिति सदस्य हुन । वि.सं २०५४ मा वडा नम्बर ९ अर्थुङ्गेको वडासदस्यमा निर्वाचत हुँदै राजनीति सुरु गरेकी उनी कांग्रेसको दुई कार्यकाल जिल्ला सदस्य र दुई पटक महाधिवेशन प्रतिनिधि भइसकेका छन । साथी संस्था, लायन्स क्लब, महिला स्वयंसेविकालगायतमा रहेर उनले सामाजिक अभियन्ताको रुपमा काम गरिसकेका छन । 

एमालेबाट उम्मेदवार बनेकी शाही पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य तथा अखिल नेपाल महिला सङ्घको  जिल्ला उपाध्यक्ष र अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष हुन। गाउँको सामुदायिक वन, विद्यालय व्यवस्थापन समिति, आमा समूहलगायत सङ्घसंस्थामा आबद्ध भई उनी सामाजिक कार्यमा क्रियाशील छन ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेकी लामिछाने पार्टीको प्रदेश कमिटी सदस्य हुन । उनले अखिल क्रान्तिकारीबाट राजनीति सुरु गरेका हुन । वि.सं २०६० देखि  राजनीतिमा सक्रिय उनी हाल विभिन्न सङ्घसंस्थामा आबद्ध छन । लामिछाने यसअघिको निर्वाचनमा उपप्रमुखमा ३४ मतले पराजित भएका थिए । 

एकीकृत समाजवादीकी उम्मेदवार मुना पार्टीको केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज हुन । वि.सं २०४८ देखि राजनीतिमा सक्रिय उनी यसअघि एमालेको प्रदेश कमिटी सदस्य थिए ।