बाग्मती

मतगणना स्थलमा सिसीक्यामरा जडान

२६ वैशाख, रसुवा । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको जिल्ला समन्वय समितिको हलमा मतगणना गरिने भएको छ ।

हललाई मतगणनास्थल तयः गरी आवश्यक पूर्वाधारसहित सिसीक्यामरा जडान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए । मतगणना गर्दा जडित सिसीक्यामराको सहायताले निर्वाचन आयोगले समेत अनुगमन गर्नसक्ने व्यवस्था मिलाइएको बताइएको छ ।

यस्तै गोसाइँकुण्ड गाउँपालिका–१ थुमनको वडा कार्यालयमा तोकिएको मतदानलाई निर्वाचन आयोगको अनुमतिबाट नजिकैको एक धार्मिक गुम्बामा स्थानान्तरण गरिएको छ । मुख्य निर्वनचन अधिकृत  नेपालका अनुसार मतदान केन्द्र तोकिएको वडा कार्यालयमा निर्वाचन अधिकृतको परामर्श एवं अनुमति बेगर भवनको तल्ला थपेर ढलान गरेको पाइएकाले नजिकै रहेको थुमनस्थित साम्वलिङ गुम्बालाई मतदान केन्द्र तोकिएको छ ।

यसैगरी  मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिमपश्चात् आइतबारदेखि मतदान कार्य सम्पन्न गराउन खटिने कर्मचारीलाई कार्यस्थलमा पठाउन थालिएको छ । पहिलो चरणअन्तर्गत नौकुण्ड र गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत लाङटाङ क्षेत्रमा आवश्यक सुरक्षाका साथ कर्मचारी खटाइएको पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा खटिने कर्मचारी मङ्गलबारसम्म सबै मतदान केन्द्रमा पुगी सक्ने बताइएको छ ।

निर्वाचनको समयमा उम्मेदवार तथा दलका कार्यकर्ताले पालना गर्नुपर्ने आचारसंहिताको विषयमा  जिल्ला हुलाक कार्यालयले अनुगमन गरिरहेको छ । हुलाक प्रवक्ता राजेश श्रेष्ठका अनुसार सूचना बोर्डको परिपत्रबमोजिम अनुगमनको साथै कहीँकतै आचारसंहिता उल्लङ्घन गरेको पाइएमा जिल्ला हुलाकलाई उजुरी दिन सूचनासमेत जारी भइसकेको बताइएको छ ।