२ जेठ, मंगलबारे । इलामको माङसेबुङ गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार हेमन्त राई विजयी भएका छन् ।
गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३२३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी भएका हुन् । उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी भएका छन् ।
एमालेका राईले तीन हजार ८१८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डिकेन्द्र इदिङ्गोले तीन हजार ४९५ मत पाएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए। मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमकुमार केरुङले १४ मत मात्र पाए ।
इदिङ्गो निवर्तमान गाउँपालिका अध्यक्ष हुन् । २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा राईलाई नै पराजित गर्दै इदिङ्गो अध्यक्षमा विजयी भएका थिए । पाँच वर्षपछि दुवै नेताबीच दोस्रो पटक आमनेसामने भएका हुन् । यसपटक भने राईले विजय हासिल गरे।
राई एमालेका माङसेबुङ गाउँकमिटीका अध्यक्ष हुन् भने इदिङ्गो नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हुन् ।
त्यस्तै एमालेकी उम्मेदवार सुनिता सुब्बालाई ६८३ मतान्तरले पराजित गर्दै नेम्वाङ उपाध्यक्ष पदमा विजयी भएकी छिन् । गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेम्वाङले तीन हजार ७२९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुब्बाले तीन हजार ४६ मत पाइन् ।
सुब्बा निवर्तमान उपाध्यक्ष हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा समेत नेम्बाङ र सुब्बा उपाध्यक्ष पदका प्रतिस्पर्धी थियो । सो निर्वाचनमा एमालेकी सुब्बा विजयी भएका थिए ।
माङसेबुङ गाउँपालिकामा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन थियो । वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । १२ हजार ५६८ मतदाता रहेको माङसेबुङमा आठ हजार ३०७ मत खसेको थियो ।





