समाचार

सर्बसाधारणले धान्नै नसक्नेगरी सवारीसाधनको भाडा पुनः बढ्यो, मूल्यबृद्धि नियन्त्रण गर्न चौतर्फी दबाब

१० जेठ, काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि गरेको छ । यसअघि भाडा बढेको एक सातामै पुनः भाडादर वृद्धि भएको हो ।

यात्रुवाहक सवारीसाधनमा दुई दशमलव एक प्रतिशत भाडा बढाइएको हो । गत साता भाडादर निर्धारण गर्दाको भन्दा अहिले डिजेल प्रतिलिटर रु १० वृद्धि भएपछि त्यसैका आधारमा भाडादर बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ । पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा दुई दशमलव एक प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा तीन प्रतिशत भाडा बढाइएको छ । 

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक यही जेठ ४ गते भाडादर समायोजन गरिएको थियो । त्यतिबेला डिजेलको मूल्य रु १५३ रहेकामा हाल रु १६३ कायम भएको छ ।  चौतर्फी रुपमा सर्बसाधारणले धान्नै नसक्नेगरी मूल्यबृद्धि भएपछि नियन्त्रणका लागि दबाब आएको भएपनि सरकार पछि हटेको छैन ।