१७ भाद्र, चितवन । शल्यक्रिया गर्ने सर्जन चिकित्सकलाई सबैले चिन्छन् । शल्यक्रिया गर्नुअघि बेहोस बनाउने एनेस्थेसियोलोजिष्टलाई कमले मात्रै चिन्ने गर्दछन् । उनीहरुको भूमिका सर्जनको भन्दा कम हुँदैन ।
जिल्लामा कुनै बेला सर्जनले कुरेर एनेस्थेसियालोजिष्टको समय लिनु पर्दथ्यो । त्यसो त यहाँका न्यून एनेस्थेसियोलोजिष्टले रातमा पनि सुत्न नपाएर शल्यक्रिया कक्षमै कामको सिलसिलामा रात बिताउनुपर्ने हुन्थ्यो । त्यस्तै एक जना महत्वपूर्ण पात्र डा. विजयराज न्यौपाने हुन् ।
रत्ननगर नगरपालिका–१२ जयमङ्गलामा जन्मिएका न्यौपाने जिल्लामै जन्मिएका दोस्रो चिकित्सक हुन् । त्यसो त जिल्लाको एनेस्थेसियामा स्नातकोत्तर (एमडी) गर्ने पहिलो चिकित्सक हुन् । जिल्लामा एनेस्थेसियाको क्षेत्रमा सेवा दिने चौथो चिकित्सक उनी । वि.सं २०१७ पुस २३ गते जन्मिएका डा. न्यौपानेले पूर्वी चितवनको पञ्चकन्या माविमा कक्षा ७ सम्मको अध्ययन गरे । त्यसपछिको शिक्षा नेपाल माविबाट भयो । त्यहीँबाट उनले विसं २०३३ सालमा एसएलसी उत्तीर्ण गरे । जिल्लामा आठ जनाले प्रथम श्रेणीमा उत्तीर्ण गरेकामध्ये डा न्यौपाने एक थिए ।
त्यसपछिको हेल्थअशिष्टेन चिकित्साशास्त्र अध्ययन संस्थान महाराजञ्ज क्याम्पसबाट वि.सं २०३७ मा उत्तीर्ण गरी यसपछिको छ वर्ष चितवन, नवलपरासी र पर्सामा विभिन्न स्वास्थ्य संस्थामा सेवा गरे । वि.सं २०४३ मा तत्कालीन सोभियत सङ्घको युक्रेनमा उनी त्यहाँको एमडी (यहाँको एमबिबिएस सरह) अध्ययनका लागि गए । वि.सं २०५० मा एमडी (यहाँको एमबिबिएस सरह)को चिकित्सक भई उनले चिकित्सकीय सेवा दिन आफ्नै जिल्लालाई कर्मथलो बनाए । न्यौपानेले परिवार नियोजन सङ्घमा छ वर्ष सेवा गरे ।
वि.सं २०५६ मा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट सेवा सुरु गरे । त्यसपछि उनले वि.सं २०५७ मा विपी कोइराला इन्स्च्यिुट अफ हेल्थ साइन्स (विपिकेआइएचएस) धरानमा एनेस्थेसियोलोजिष्ट एण्ड क्रिटिकल केयरमा विशेषज्ञता हासिल गर्नका लागि तीन वर्ष त्यहाँ बिताए। वि.सं २०६० मा एमडी उत्तीर्ण गरी त्यसपछिको उनको जीवन क्यान्सर अस्पतालमै बिरामीको सेवामा समर्पित भयो ।
दिनको समयमा क्यान्सर अस्पताल र साँझ बिहान भरतपुरका निजी अस्पतालका बिरामीको सेवामा उनी लागिरहे । उनले भने, “भरतपुर अस्पतालका डाक्टर माणिकलाल मानन्धर दाजु र मैले जिल्लाका सबै अस्पतालको शल्यक्रिया धान्नु पथ्र्यो ।” अहिलेसम्म झण्डै आफ्नो नेतृत्वमा एक लाखलाई सेवा दिएको बताउँदै उनले थपे, “धेरै रात मैले शल्यक्रिया कक्षमा काममा बिताएको छु ।” त्यतिबेला साना साना शल्यक्रियाका लागि पनि राजधानी धाउनुपर्ने बाध्यता थियो । न्यौपानेसँगै चिकित्सक थपिँदै जाँदा सबैखालका शल्यक्रिया यहीँ हुने गर्दछ ।
कुनै पनि बिरामीको शल्यक्रिया गर्नुअघि उपयुक्त हुने वा नहुने छनोट गर्ने मुख्य चिकित्सक एनेस्थेसियोलोजिष्ट हुने गर्दछ । त्यसो त शल्यक्रियाको अवस्थाअनुसार शरीरका पूरै वा आंशिक अङ्ग बेहोस बनाउनुपर्ने हुन्छ । यो महत्वपूर्ण भूमिका निर्वाह गर्ने चिकित्सक बाह्यरुपमा नदेखिएर पर्दाभित्रको हिरोको रुपमा चित्रण गर्न सकिन्छ ।
दुई सयभन्दा बढी शल्यचिकित्सकसँग काम गरेको उनीसँग अनुभव छ । विगत दुई दशकदेखि चितवनको भूमिमा बिरामीको सेवामा समर्पित डा न्यौपानेले विगतलाई सम्झँदै भने, “शल्यक्रियाको बढी चाप र एनेस्थेसियोलोजिष्टको सङ्ख्या कम हुनुको करणले बिरामीले शल्यक्रिया कुर्नुपर्ने बाध्यता थियो, मेरै समय कुरेर तीन चार दिनसम्म बिरामी बस्नुपर्ने अवस्था पनि थियो ।” जिल्लाका अधिकांश अस्पतालका शल्यक्रिया कक्षमा उनले काम गरेको अनुभव छ ।
भरतपुर अस्पताल, दुई मेडिकल कलेजमा एनेस्थेसियोलोजिष्ट अभावमा त्यहाँको सेवा अवरुद्ध नहोस भनेर उनले स्वयमंसेवी सेवा गरेका छन् । पछिल्ला दिनमा एनेस्थेसियोलोजिष्ट चिकित्सक थपिँदै गएपछि शल्यक्रियाको काममा दबाब घट्दै गएको उनले बताए । अहिले जिल्लामा यो सङ्ख्या ४० हाराहारी पुगेको छ ।
वि.संं २०१२ मा लमजुङको दूराडाँडाबाट हजुरबुबासँगै बुबा बन्धुराज न्यौपाने र आमा निर्मलादेवी न्यौपाने चितवन झरेपछि उनको बसाई रत्ननगरमा भयो । उपप्रधानपञ्च, विद्यालयका अध्यक्ष, परिवार नियोजन सङ्घ, नेपाल रेडक्रसलगायत सामाजिक क्षेत्रमा बुबाको योगदानका कारण न्यौपानेलाई सामाजिक क्षेत्रमा लाग्ने प्रेरणा मिलेको छ । उनले रोटरीका विभिन्न पदमा रहेर मुख्य दाताको भूमिका निर्वाह गरेका छन् ।
नेपाल चिकित्सक सङ्घका पूर्वकेन्द्रीय सदस्य, रेडक्रसका विशिष्ट सदस्य, सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालका पूर्वकेन्द्रीय सदस्य, चितवनका संस्थापक अध्यक्ष, नेप्लिज एशोसिएशन अफ प्यालेटी केयरका निवर्तमान अध्यक्ष रहेका उनले विभिन्न सामाजिक सङ्घसंस्थामा सेवा पु¥याउँदै आएका छन् ।
आफूमात्रै चिकित्सा क्षेत्रमा नभएर बुहारीलाई आफैँले पढेको विषयमा पढाएर आफ्नै विभागमा अनुभवलाई आदान प्रदान गर्दै आएका छन् । न्यौपानेका दुई छोरा चिकित्सक छन् । क्यान्सर अस्पतालमा विभागीय प्रमुखदेखि उपनिर्देशकसम्म रहेर लामो समयको अनुभवपछि अवकाश पाएका न्यौपाने हाल नारायणी सामुदायिक अस्पताल र कालीगण्डकी अस्पताल कावासोतीमा कार्यरत छन् । नारायणी सामुदायिक अस्पतालको उनी पूर्वअध्यक्ष हुन् भने कालीगण्डकीको हालको कार्यकारी अध्यक्ष हुन् । उनले क्यान्सर अस्पतालमा रहँदा हस्पिस एण्ड प्यालिएटिक कियर स्थापना गरी १६ वर्ष संयोजकको भूमिकामा रहेर योगदान गरे ।





