२९ असोज, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा निर्वाचन चिह्नमा सामान्य हेरफेर गरेको छ ।
निर्वाचन आयोगको अभिलेखमा रहेको निर्वाचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले चिह्न हेरफेर गरिएको आयोगले जनाएको छ ।
यही असोज २७ गतेको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती निर्वाचन चिह्नको अनुसूचीमा हेरफेर गरिएको सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।
निर्देशिकाको अनुसूची २९ को क्रम सङ्ख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको निर्वाचन चिह्न लौरो र अनुसूची–३० को खण्ड ९क० मा रहेका स्वतन्त्र उम्मेदवारको लागि निर्धारित निर्वाचन चिह्नअन्तर्गत डोजर र क्रस खुकुरी निर्वाचन चिह्न हेरफेर गरिएको छ ।
हेरफेर गरिएका निर्वाचन चिह्नसहितको विवरण वेबसाइटमा राखिएकोे आयोगले जनाएको छ । आगामी मङ्सिर ४ गते आइतबार देशभर एकै चरणमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । आयोगले यही असोज २६ गते मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको थियो ।





