९ कात्तिक, काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर १ मा २१ राजनीतिक दलले भाग लिएका छन् ।
सो क्षेत्रमा २१ विभिन्न दलबाट ३८ र स्वतन्त्रबाट २४ गरी जम्मा ६२ जनाको उम्मेदवारी परेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दि। उहाँका अनुसार क्षेत्र नं १ ‘क’मा आठ राजनीतिक दल र सात स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै क्षेत्र नं १ ‘ख’मा नौ राजनीतिक दल र स्वतन्त्रबाट छ जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभा सदस्यको एक पदका लागि काठमाडौँ क्षेत्र नम्बर १ मा दलको तर्फबाट २१ र स्वतन्त्रबाट ११ गरी कूल ३२ जनाको उम्मेदवारी परेको अधिकारीले जानकारी दिए । कूल ५४ हजार १८ मतदाता रहेको उक्त क्षेत्रमा प्रदेशसभा ‘क’मा २६ हजार चार सय ३५ र प्रदेशसभा ‘ख’मा १८ हजार पाँच सय ८३ मतदाता छन् । तीमध्ये २३ हजार चार सय ४८ महिला र २१ हजार पाँच सय ७० पुरुष मतदाता रहेका छन् ।
सो क्षेत्रमा काठमाडौँ महानगरपालिकाका चारवटा वडा समेटिएका छन् । यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरका १०, ११, २९ र ३१ वडा समेटिएका छन् । प्रदेशसभा ‘क’तर्फ काठमाडौँ महानगरका १०, ११ र २९ वडा तथा प्रदेशसभा ‘ख’मा काठमाडौँ महानगरको ३१ वडा समेटिएको छ ।
यसभन्दा अघि तीन पटक काँग्रेस नेता प्रकाशमान सिंह विजयी भएको काठमाडौँ क्षेत्र नम्बर १ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र निर्धारण गरिएको छ । उक्त क्षेत्रमा नेकपा एमालेबाट युवा नेता किरण पौडेल, राप्रपाबाट रबिन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम अनि पूर्व डीआईजी रमेश खरेल प्रतिनिधि सभाको उम्मेद्वार छन् । अन्य कमजोर उम्मेद्वारको तीब्र प्रतिष्पर्धाका कारण बलिया उममेद्वार काँग्रेसका प्रकाशमान सिंहलाई फाईदा पुग्ने र उनले नै जित्ने सम्भावना बलियो हुँदै गएको स्थानीयको प्रतिकृया छ ।





