समाचार

चितवनमा रवि उम्मेदवार बने पराजित गर्ने कांग्रेसको दाबी

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुन उम्मेदवार भए पराजित गर्ने दावी गरेको छ। कांग्रेसका चितवन सभापति राजेश्वर खनालले चितवन-२ मा हुने उपनिर्वाचनमा रवि उम्मेदवार भए कांग्रेसका लागि सहज हुने बताएका छन् ।

कांग्रेस निकट चितवन–काठमाडौं सम्पर्क समितिले गरेको पत्रकारसँगको भेटघाटमा सभापति खनालले ३२ दिनमा गृहमन्त्री हुँदा रविले के-के काम गरे भन्ने कुरा चितवनका मतदाताले बुझिसकेको बताए । उनले नागरिकता र दोहोरो पासपोर्टको मुद्धा मतदाताले बुझिसकेको समेत बताए ।

त्यस्तै, सभापति खनालले नयाँ दल र रविको तरंगले मतदाता भ्रममा परेपनि उपनिर्वाचनमा उक्त भ्रम तोडिने बताए । ‘गठबन्धन गरे जितिहालिन्छ नि भन्ने कांग्रेसलाई भयो । कार्यकर्तामा हार्मोनी पनि हुन सकेन’, उनले भने ।