राजनीति

रविलाई गृहमन्त्री बनाउन प्रधानमन्त्रीलाई एमालेको दबाब

काठमाडौं । सत्ता सहकार्य दलहरु भित्र खटपट सुरु भएको छ । सत्ता सहकार्य दल रास्वपाका सभापति रवि लामिछानेको उपप्रधान एवम् गृहमन्त्रीसहित सांसद पद खारेज भए लगत्तै सत्ता सहकार्य दलहरू भित्र खटपट सुरु भएको हो ।

सर्वोच्च अदालतले रवि अनागरिक भएको ठहर गर्दै गृहसहित सांसद पद खारेज गरेको हो । त्यसपछि रविले पुन: आइतबार नेपाली नागरिकता लिएका छन् । नागरिकता लिएसँगै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए ।

उक्त भेटमा रविले आफू पुन: गृहमन्त्रालय फर्किने चाहना व्यक्त गरेका थिए । तर प्रधानमन्त्रीले भने रविलाई पुन: गृह मन्त्रालयको जिम्मेवारी दिन चाहेनन् । त्यसपछि रविले मंगलबार प्रधानमन्त्रीलाई भेटेर सरकार गठन अगाडि भएको सहमति अनुसार रास्वपाले गृह मन्त्रालय पाउनु पर्ने माग राखे ।

त्यति मात्र नभई उनले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिए । त्यसपछि प्रधानमन्त्री प्रचण्डले पार्टीको पदाधिकारी बैठकमा गृह मन्त्रालयबारे छलफल समेत गरे ।

उनले बैठकमा आफूलाई रास्वपालाई गृहमन्त्री दिन दबाब आएको ब्रिफिङ गरे । त्यस्तै, सत्ता सहकार्य दल नेकपा एमालेले पनि पूर्व सहमति अनुसार नै चल्न प्रधानमन्त्रीलाई दबाब दिएको छ ।

एमालेले पूर्व सहमति अनुसार नै रास्वपाका सभापति रविलाई नै गृहमन्त्री बनाउन दबाब दिएको छ । एमालेले रविलाई नै गृहमन्त्री बनाउन दबाब दिनुको मुख्य कारण हो राष्ट्रपति पद ।

एमालेले पूर्व सहमति अनुसार नै रवि गृहमन्त्री बने त्यही सहमति अनुसार राष्ट्रपति आफूले पाउनेमा ढुक्क छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पदमा राष्ट्रिय सहमति खोज्न थालेपछि एमाले त्रसित छ । प्रचण्डले पटक-पटक राष्ट्रपति राष्ट्रिय सहमति अनुसार हुने बताउँदै आएपछि एमाले प्रचण्डदेखि त्रसित छ ।

यता रास्वपाले पनि पूर्व सहमति अनुसार नै गृहमन्त्री आफूले पाउनु पर्ने दावी गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि एमाले त्रसित बनेको हो ।

स्रोतका अनुसार प्रचण्ड राष्ट्रपति पद कांग्रेसलाई दिएर राष्ट्रिय सहमतिको सरकार बनाउने दाउमा छन् । राष्ट्रपति पद कांग्रेसलाई दिए आफू बलियो हुने प्रचण्डको विश्वास छ । एमाले भने आफ्नै पार्टीले राष्ट्रपति पाउनु पर्ने दावी गर्दै आएको छ ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो । उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ४ चैत २०७४ मा निर्वाचित भएका थिए ।