२२ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देश गम्भीर आर्थिक संकटतर्फ उन्मुख रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरुङले नेताहरु ठूला सपना मात्रै बाँड्ने काममा लागि परेको भन्दै अझै पनि नसच्चिने हो भने मुलुकले झनै दुःख पाउने बताए ।
गुरुङले आँखा अघि नै व्यवसायीहरुले आत्मदाह र आत्महत्या गर्दा पनि सरकार र नेताहरु आफ्नै स्वार्थमा लागिपरेको बताए । उनले जनताको स्वार्थ भन्दा मन्त्रीहरु पुरानो गाडी परिवर्तन गर्नुहोस् भन्नेतर्फ लागिपरेको आरोप लगाए ।
उनले देश गफले मात्रै चल्न नसक्ने भन्दै संसद जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । उनले संसद नीति निर्माण भन्दा पनि घोचपेचमा नै सकिँदै गइरहेको बताए ।





