राजनीति

गठबन्धनमा खटपट सुरू, कांग्रेस नै नेतृत्वमा आउँछ : प्रकाशशरण

२८ माघ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सत्ता गठबन्धनमा खटपट सुरू भइसकेको दावी गरेका छन् । सातौं नुवाकोट महोत्सवमा सम्बोधन गर्दै प्रवक्ता महतले ढिलो चाँडो कांग्रेस नै मुलुकको नेतृत्वमा आउने बताएका हुन् ।

निर्वाचनमा कांग्रेसलाई पहिलो दलको रुपमा जनमत प्राप्त भए पनि अनेकन चलखेल गरेर सत्ताबाहिर पुर्‍याइएको भन्दै उनले भने, ‘यो निर्वाचनमा कांग्रेसले जनताको साथ पायो, पहिलो दल पनि बन्यो । तर, अनेकन चलखेल गरेर कांग्रेसलाई सत्ताभन्दा बाहिर पुर्‍याइएको छ । तर सत्ता गठबन्धनमा अहिले नै खटपट सुरू भइसकेको छ । छोटो समयमै यस्तो खटपट हुनु राम्रो होइन । यसले मुलुकको विकास र समृद्धिको यात्रालाई अन्योलमा पारेको छ । यो अन्योललाई हामी चाँडै निकास दिने प्रयासमा छौं ।’

प्रवक्ता महतले शान्ति र संविधानको नेतृत्व कांग्रेसले गरेको स्मरण गर्दै अब विकास र समृद्धिको यात्राको नेतृत्व पनि कांग्रेसबाट मात्रै सम्भव रहेको बताए ।