१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि तहका सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्ने बताएका छन् ।
महामन्त्री थापाले सार्वजनिक बिदाका नाममा अराजकता अति भएको उल्लेख गरेका छन् । सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा आज देशैभर दिएको बिदाबारे कांग्रेसका नेताहरूको धारणा माग भइरहेका बेला आज ट्वीट गर्दै उनले यतो टिप्पणी गरेका हुन् ।
‘अब संसदमा तत्कालै गर्नुपर्ने विषयमा यसलाई राखौं । सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दवाव बढाऔं,’ उनले भनेका छन् ।
उनले लेखेका छन्, ‘आज फेरि बिदा!
पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको छ। कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि । झन् प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै बिदा घोषणा गरेका उदाहरण छन् । यो नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज हो । सार्वजनिक बिदाका नाममा यो अराजकता अति भयो ! कार्यकारीको यस्तो स्वेच्छाचारितालाई नियमन गर्न उसैलाई जिम्मा दिनुको के अर्थ ? कार्यकारी स्वेच्छाचारितालाई रोक्ने व्यवस्थापिकाले हो । यो विषयमा छुट्टै कानुन बनाएर नियमन र व्यवस्थित गर्दा मात्र यो रोक्न सकिन्छ । न्युजिल्यान्ड, जापान लगायत विश्वका थुप्रै देशहरूमा सार्वजनिक बिदा सम्बन्धी कानुन छ, त्यसैका आधारमा बिदा तय गरिन्छ । नेपालमा पनि कानुन बनाएर नियमन नगर्ने हो भने यस्तो स्वेच्छाचारिता झन् बढ्दै जाने निश्चित छ । अब संसदमा तत्कालै गर्नुपर्ने विषयमा यसलाई राखौँ । सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरि ऐन बनाउन सरकारलाई दबाब बढाऔँ, अन्यथा सांसदहरू आफैँले कानुन निर्माणको अग्रसरता लिउँ । यसका लागि नेपाली कांग्रेसले पहलकदमी लिनेछ ।’






