१ फागुन, काठमाडौं ।नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले १० दिन भित्र यो सत्ता गठबन्धन भत्किने बताएका छन्। आज रुपन्देहीको तिलोत्तमा-१५ मा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले निरासा नै निरासाको बीचमा गठन भएको सत्ता गठबन्धन दुइ महिना पुग्दा नपुग्दै भत्किने ठोकुवा गरेका हुन् ।
अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पुसको १० गते बनेको यो सरकार फागुनको १० गते भित्र नै भत्किने दावी गरे । उनले निर्वाचन अघि बनेको गठबन्धन चुनावमा जाँदा पाँच वर्षसम्म मुलुकको स्थिरता,विकाश र उन्नतिको लागी संगैमिलेर सरकार संचालन गर्ने भन्दै बनेको बताएका थिए ।
थापाले जनतामा लिएर गएको म्यान्डेट विपरित यो सरकार गठन भएको भन्दै जनाताको हितको लागी पनि यो गठबन्धन भत्काउन पर्ने बताएका हुन् । पार्टी नेतृत्वको गल्तीका कारण सत्ता समीकरण बदलीएको भन्दै अब बन्ने जनचाहना अनुसारको गठबन्धन कांग्रेसको नेतृत्वमा बन्ने थापाको भनाइ छ।
उनले ‘अब हुने राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको तर्फबाट बन्ने उम्मेदवार बिजय हुने भन्दै’ थापाले एमालेको तर्फबाट खडा गरिएको उम्मेदवार राष्ट्रपतिमा बिजयी भएमा सितल निवास र सिंहदरबारमा समानान्तर सरकार चल्ने समेत बताए । यदि राष्ट्रपतिमा एमालेको उम्मेदवार बिजयी बनेमा एमाले अध्यक्ष केपी ओलीको रवर स्ट्याम्प बन्ने भन्दै कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु पर्ने बताएका थिए ।





