अन्तर्राष्ट्रिय

टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार

५ फागुन, एजेन्सी । टर्कीमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनालाई उद्धार गरेका छन् । टर्कीका उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरेको टर्कीका एक मन्त्रीले शुक्रबार बताए ।

टर्कीको दक्षिणपूर्वी क्षेत्र र सिरियामा गएको ७.८ म्याग्निच्यूडको भूकम्पको २६० घण्टापछि १४ वर्षीय उस्मानलाई उद्धार गरिएको स्वास्थ्यमन्त्री फहरेटिन कोकाले ट्वीटरमा जानकारी गराएका छन् ।

उनले तेह्र बर्षीय उस्मानलाई उद्धारपछि स्ट्रेचरमा बोकिरहेको भिडियो पनि पोस्ट गरेका छन् । उनको हताय प्रान्तको अन्ताक्यास्थित अस्पतालमा उपचार भइरहेको छ । उद्धारकर्ताले भग्नावशेषमा आवाज सुनेपछि उस्मानलाई फेला पारेको सरकारी समाचार एजेन्सी अनादोलुले अधिकारीहरूलाई उद्धृत गरी उल्लेख गरेको छ ।

उद्धारकर्मीले बिहीबार नै अन्ताक्यामा २६ र ३३ वर्षका अन्य दुई जनालाई उद्धार गरेको कोकाले बताए । एघारौँँ दिनमा उद्धार गरिएका २६ वर्षीय मेहमत अली साकिरोग्लु र ३३ वर्षीय मुस्तफा अव्सीलाई उस्मानलाई उद्धार गरिएकै स्थानको भवनको भग्नावशेषबाट उद्धार गरिएको डीएचए समाचार एजेन्सीले जनाएको छ ।

“म ठीक छु, मलाई कुनै समस्या छैन,” कोकाले सार्वजनिक गरेको भिडियोमा प्रियजनलाई कल गर्ने क्रममा अब्सीले भने ।

अव्सीले आफ्नो उद्धारपछि आफ्नी आमाको अवस्थाबारे सोधेका थिए । भिडियोमा उनले ‘मेरी आमा र अरूलाई कस्तो छ?’ भनी सोधेपछि कसैले ‘तिनीहरू सबै ठीक छन्, तिनीहरू तपाईंको प्रतिक्षामा छन्’ भनिएको देख्न सकिन्छ ।