राजनीति

यो व्यवस्थामाथि संसदभित्रका दलहरूबाट नै खतरा छ : सभामुख

५ फागुन, झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद भित्र रहेका दलहरूबाट यो व्यवस्थामाथि खतरा रहेको बताएका छन् ।आज गृहजिल्ला पुगेर सभामुख घिमिरेले संविधानले कल्पना गरेको भन्दा फरक गतिविधि संसद् र सडकमा देखिन थालेको भन्दै त्यस्तो टिप्पणी गरेका हुन् ।

उनले संविधानले राजतन्त्ररहित व्यवस्था अंगीकार गरेको अवस्थामा ‘नेकपा एमालेकै केन्द्रीय सदस्यले मुलुकमा राजतन्त्र चाहिन्छ’ भनेर मेची–महाकाली अभियान गरिरहेको भन्दै आपत्ति जनाएका हुन् ।

सभामुख घिमिरेले भने “नेकपा एमालेका केन्द्रीय सदस्य राजतन्त्र चाहिन्छ भनेर मेची–महाकाली अभियानमा युवाहरुलाई लिएर हिँडेका छन् । यसप्रति सरकारको के दृष्टिकोण हो ? पार्टीको के दृष्टिकोण हो ? स्पष्ट हुन जरुरी छ ।”

उनले संविधान विपरीतका गतिविधिहरु भइरहेकाले यस्ता गतिविधिहरु राष्ट्रका लागि कति घातक भएको र सरकारले ध्यान दिन जरुरी रहेको समेत बताएका हुन् ।