१३ फागुन, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो वर्ष रुसलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विदेशबाट जर्मनीमा निर्मित ट्याङ्क र हातहतियार प्राप्त गरेपछि उहाँले रुसलाई पराजित गर्ने प्रतिबद्धता दोहो¥याएका हुन् ।
दोस्रो विश्वयुद्धपछि युरोपमा भीषण युद्ध शुरु भएको वार्षिकीका सन्दर्भमा युरोपेली मुलुकका राजधानीमा रुसी आक्रमणविरुद्ध विरोध प्रदर्शन भएका छन्भने पश्चिमा राष्ट्रले रुसी ब्याङ्क, सैन्य क्षेत्रलगायत आर्थिक उपार्जनका केन्द्रलाई क्षीण तुल्याउन अझ कठोर प्रतिबन्ध लगाउने अभिव्यक्ति दिइरहेका बेला उत्साहित युक्रेनी राष्ट्रपतिले रुसलाई परास्त गर्ने प्रण गरेका हुन् ।
सात वटा औद्योगिक राष्ट्रको समूहले पनि रुसमाथि गम्भीर नाकाबन्दी लगाउने चेतावनी दिएको छ । पोल्याण्डका प्रधानमन्त्री माटेउज माराविकीले युक्रेनलाई थप सैन्य सहायता उपलव्ध गराउने बताएका छन् । युक्रेनी विमान चालकहरूलाई लडाकु विमान उडाउने तालिम दिने प्रस्ताव पनि उनले अघि सारेका छन् ।
रुसका पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवले पोल्याण्डको सिमानाबाट आफ्नो भूमिमा हुने आक्रमणको जवाफ दिन रुस तयार रहेको बताएका छन् ।
चीनले युक्रेन युद्धका सम्बन्धमा जारी गरेको १२ बुँदे अवधारणापछि राष्ट्रपति जेलेन्स्कीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेट्ने योजनामा आफू रहेको बताएका छन् । चीनले शान्ति वार्ताको थालनी तथा क्षेत्रीय सार्वभौमसत्ताको सम्मान गर्न युद्धरत पक्षलाई आह्वान गरेको छ ।





