राजनीति

एमाले अध्यक्ष ओलीले राष्ट्रपतिमा मत माग्दै लेखे माधव नेपाललाई पत्र

१३ फागुन, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मत माग्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेखेका छन् ।ओलीले नेपालको संविधानको मर्म र भावनाअनुरूप माननीय सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार भएको भन्दै पत्र पठाएका हुन् ।

पत्रमा ,आम निर्वाचन २०७९ को नयाँ जनादेशअनुरूपको २०७९ पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमति अनुसार हाम्रो पार्टीका तर्फबाट माननीय सुवासचन्द्र नेम्वाङलाई यही २०७९ फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारमा मनोनयन गरिएको छ। नेपालको संविधानको मर्म र भावनाअनुरूप माननीय सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ। राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका माननीय सदस्यहरू मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु।’ लेखिएको छ।

एमालेको आज बिहान बसेको सचिवालय बैठकले पुर्व सभामुख समेत रहेका पार्टी उपाध्यक्ष नेम्वाङलाई भावी राष्ट्रपतिको रूपमा पार्टीको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेसँगै मनोनयन दर्ता गरेको थियो ।