१४ फागुन, काठमाडौँ । सत्ता साझेदारी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस पटक आफुलाई पुष्पकमल दाहालले धोका दिएको आरोप लगाएका छन् ।आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दाहालले ढाँट्न र छकाउन अप्ठ्यारो नमान्ने गरेको बताएका हुन् ।
ओलीले भने,‘जनतालाई धोका दिनुभयो, सहयोद्धालाई धोका दिनुभयो, आफूलाई त्यस ठाउँमा पुर्याउनेलाई धोका दिनुभयो भने मलाई धोका दिनु कुन ठुलो कुरा भयो र ? उहाँ बेग्लै भाषा बोल्नुहुन्छ तर गर्नुहुन्छ अर्को, देब्रेपट्टि हेर्नु हुन्छ तर निशाना दाहिने पट्टि हुन्छ ।’
प्रधानमन्त्री दाहाल प्रति आक्रोशित हुँदै ओलीले भने,’अस्तिका दिनसम्म पनि मसँग छकाउने भाषा बोल्नुभयो, उहाँले हातमा चक्कु लिएर बस्नुभएको थियो, मसँग यो फूल हो, तपाईँले फूललाई चक्कु देख्नुभयो होला, यो फूल हो भन्नुभयो तर मैले चक्कु देखेर पनि तपाईँले भनेपछि फूल नै हो भनेर बसेँ ।’
ओलीले राष्ट्र निर्माणको लागि सरकार बनाउन लागियो तर लोकतान्त्रिक पद्धति मार्फत देशलाई अघि बढाउन खोज्दा दाहालकै कारण देश अप्ठ्यारो अवस्थामा पुग्न लागेको समेत बताए ।





