राजनीति

आफूलाई प्रधानमन्त्रीले बेवास्ता गरेर मुलुक चलाउन नसक्ने अध्यक्ष नेपालको दावी

१५ फागुन, सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई बेवास्ता गरेर कसैले मुलुक चलाउन नसक्ने दावी गरेका छन् । अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले आएर आफूहरुको महत्व बुझेको बताए ।

सुर्खेत विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘आज बिहान मात्रै प्रधानमन्त्रीजीसँग भेट भयो । उहाँ भन्दै हुनुहुन्थ्यो तपाईंलाई पहिले नै सरकारमा सहभागी गराउन कति चाहेको थिएँ तर हुँदै भएन,’ नेपालले भने ।

उनले अघि भने, ‘हो पनि हामीलाई कसैले बेवास्ता गरेर यो मुलुक चलाउँछु भन्ने ठान्छ भने त्यो समयमै सचेत भएर चलोस् । हामीलाई कसैले पनि माइनस, मिनिमाइज गर्न सक्दैन ।’

राष्ट्रपति निर्वाचनका लागि गरिएको आठ दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने अध्यक्ष नेपालले बताए । उनले आँट भएका, विचार भएका दलहरू एक ठाउँमा भएको यो गठबन्धन टिक्ने दावी गरे ।