१५ फागुन, काठमाडौँ । राष्ट्रपति निर्वाचन सँघारमा बनेको आठ दलीय गठबन्धनको कार्यदलको बैठक बसेको छ । आज बसेको कार्यदलको बैठकले सातै प्रदेशका सांसदहरूको भेला गर्ने निर्णय गरेको हो।
काँग्रेस उपसभापति पूर्ण बहादुर खड्काको नेतृत्वमा काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कार्यदलको पहिलो बैठक बसेको थियो ।
हिजो बसेको आठ दलीय गठबन्धनको बैठकले कार्यदल बनाएसँगै कार्यदलको बैठकले फागुन १८ गते काठमाडौँमा उपलब्ध सांसदको भेला गर्ने पनि निर्णय गरेको छ । भेलाद्वारा आठ दलको गठबन्धन निर्माण गर्नुको औचित्य बारे सांसदहरूलाई प्रस्ट पार्ने भनिएको छ।
बैठकले राष्ट्रपति निर्वाचनको अघिल्लो दिन फागुन २४ गते सङ्घ र प्रदेशका सबै सांसदहरूको बृहत् भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताले सम्बोधन गर्ने निर्णय गरेको छ ।
कार्यदलमा काँग्रेसको तर्फबाट उपसभापति खड्का, माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् । त्यसै गरी जनमत पार्टीबाट अब्दुल खाँन, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन् ।
राष्ट्रपति निर्वाचनमा आठ दलको साझा उम्मेदवार काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने एमालेको तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ रहेका छन् ।





