राजनीति

विदेशमै रहँदा परराष्ट्रमन्त्रीको पद नजाओस् भनेर भ्रमण रोकेको हुँ : प्रधानमन्त्री दाहाल 

१५ फागुन, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्र मन्त्री विमला राई पौड्यालको विदेशमै रहेको बेला मन्त्री पद नजाओस् भनेर भ्रमण रोकेको बताएका छन् । आज एमालेका मन्त्रीहरूको राजीनामा बुझ्दै दाहालले अपमान गर्ने गरी भ्रमण नरोकेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले  २०६५ सालमा आफ्नै नेतृत्वको सरकारका परराष्ट्र मन्त्री उपेन्द्र यादव विदेश भ्रमणमै रहेका बेला मन्त्री पदबाट हट्नु परेको घटना स्मरण गर्दै यस्तो नहोस् भनेर विदेश नजान भनेको स्रोतको भनाइ छ । तत्कालीन प्रधानसेनापति रुक्मांगद कटुवाल प्रकरणमा दाहालले ९ महिनामै सरकार छोड्नु परेको थियो। 

 मन्त्री पौड्याल मानवअधिकार परिषद्को ५२ औँ सत्रमा सहभागी हुन आइतबार जेनेभा जाने तयारी थियो। उनको स्थानमा पूर्व कानुनमन्त्री गोविन्द बन्दीलाई सरकारले जेनेभा पठाएको छ।