१६ फागुन, काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थामा देखिएका समस्या समाधानका लागि पहल गर्न राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाभियानले सरकारसँग आग्रह गरेको छ ।
अहिले बैंक तथा वित्तीय संस्थाका ऋणी कर्जा तिर्न सक्ने अवस्थामा नरहेकाले नियामक र सरकारबाट यसको उचित व्यवस्थापनका लागि महाभियानले माग गरेको हो । बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज असुल गर्ने गरेका कारण ऋणीहरु समस्यामा परेकाले ब्याजदर घटाइनुपर्ने माग छ ।
“रु २० लाखभन्दा बढी ऋण चारदेखि पाँच प्रतिशत ब्याजदरमा दिनुपर्ने, निक्षेपको ब्याज छ प्रतिशतभन्दा बढी हुन नहुने, सरकारी सङ्घसंस्थाको पुँजी शून्य प्रतिशत ब्याजदरमा बैंकमा राख्नुपर्ने र धितो लिलाम गरिएका ऋणीको कर्जा पुनःसंरचना गरिनुपर्छ”, महाभियानका संयोजक दुर्गा प्रसाईले भने । नेपालमै रोजगारको प्रत्याभूति गर्नुपर्ने माग पनि महाभियानले राखेको छ ।
“उच्च शिक्षा हासिल गर्न विदेश जाने बाटो बन्द गरी नेपालमै थप विश्वविद्यालय खोली उच्च शिक्षा हासिल गर्न पाउने वातावरण मिलाउनुपर्ने, बेरोजगार युवालाई बिना धितो ऋण उपलब्ध गराउनुपर्छ”, प्रसाईले भने।
कार्यक्रममा नेपाल व्यापार सङ्घका अध्यक्ष हरि गौतमले भने, “वर्तमान समयमा व्यापार व्यवसायी चर्को ब्याजदरको मारमा छन् । ब्याजदर घटाउनु पर्छ । मुलुकमा व्यापार व्यवसायतर्फ आकर्षित युवालाई हतोत्साहित बनाउनु गलत हो ।”
महाभियान कुनै पार्टी र व्यक्ति विरोधी नभई नागरिकका वर्तमान समस्यालाई कदर गरी मुलुकभित्र शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर उपलब्ध गराई स्वदेशमै केही गरौँ भन्ने उद्देश्यले १५बुँदे मागसहित महाअभियान सञ्चालन गर्ने आयोजकले जनाएको छ ।





