२० फागुन, काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा आठ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन् ।उनले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको गर्नु आफ्नो दायित्व हुने बताएका हुन् ।
आज केही संचारकर्मीहरूसँग कुरा गर्दै पौडेलले आफू प्रजातन्त्रका लागि छ दशकदेखि लड्दै आएकाले वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै पहिलो कर्तव्य र जिम्मेवारी हुने उल्लेख गरे ।
पौडेलले भने, ‘संविधान र लोकतन्त्रसहित परिवर्तनका उपलब्धिको रक्षा गर्ने सन्दर्भमा राष्ट्रपतिको महत्वपूर्ण भूमिका हुन्छ । राष्ट्रपतिको उम्मेदवारीका लागि भएका छलफलमा सबै दल र साथीहरूको सहमतिपछि म उम्मेदवार भएँ, जनताले अपेक्षा गरेअनुसारको यदि मैले आचरण र संविधानको परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन्।’
उनले लोकतन्त्रप्रतिको निष्ठा र विगतका जिम्मेवारीले आफ्नो निष्ठा र तटस्थताको परीक्षण भइसकेको जिकिर गर्दै राष्ट्रपति पद संविधान र लोकतन्त्रको रक्षा गर्ने महत्वपूर्ण ठाउँ भएको समेत स्पष्ट पारे ।





