राजनीति

मुस्ताङमा विश्वविद्यालय स्थापना गर्ने भन्ने केपी ओलीले चलाएको हल्लामात्रः सञ्चारमन्त्री शर्मा

२१ फागुन, काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा सरकारले कुनै अमुक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने विषयमा सरकारले कुनै पनि निर्णय नगरेको बताएका छन् ।

सरकारको प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा सरकारले कुनै अमुक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको र सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहेको उल्लेख छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको भनाइ भनी सञ्चारमाध्यममा सार्वजनिक भएको समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यस सम्बन्धमा मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा के भएको हो सोको अध्ययन र आवश्यक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने व्यहोरा जानकारी गराउन चाहन्छौँ ।”

प्रधानमन्त्री र सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रूपमा यस्ता विषय शृङ्खलाबद्ध रूपमा सार्वजनिक हुनु दुःखद पक्ष भएको र परराष्ट्र नीतिमाथि आँच पु¥याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त नभएको विज्ञप्तिमा उल्लेख छ ।

“मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित एवं स्वतन्त्र र सन्तुलित कूटनीतिका पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको छ”, विज्ञप्तिमा भनिएको छ, “नेपाल निरन्तर असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेको छ, तसर्थ, यस्ता भ्रमपूर्ण अभिव्यक्तिहरूबाट भ्रमित नहुनसमेत सञ्चारमाध्यम र आम जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।” मन्त्री शर्माले उक्त स्थानमा बिश्वबिद्यालय खोल्ने भन्ने कुरा एमाले अध्यक्ष केपी शर्मा ओलीले चलाएको हल्लामात्र भएको बताएकी छन् ।