राजनीति

तनहुँको समग्र विकासका लागि भट्टराईलाई निर्वाचन जिताउनुपर्छ : तनहुँ बासी

नेपाली काँग्रेसका नेताहरूले तनहुँको समग्र विकासका लागि वैशाख १० मा हुने तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन जरुरी रहेको बताएका छन् ।

काँग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले शुक्रवार आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक कार्यक्रम’ मा उनीहरूले तनहुँलाई काँग्रेसको किल्लाका रुपमा स्थापित गराउन उपनिर्वाचनमा पार्टीका उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताएका हुन् ।

काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शङ्कर भण्डारीले तनहुँमा काँग्रेसका उम्मेदवार भट्टराईलाई चुनाव जिताउन आफूले नेतृत्व लिने बताए। “तनहुँको समग्र विकासका लागि काँग्रेसको जित आवश्यक छ”, उनले भने।

काँग्रेस केन्द्रीय सदस्य एवं उपनिर्वाचनका उम्मेदवार गोविन्द भट्टराईले पार्टीले अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्नका लागि आफूले उम्मेदवारी दिएको बताए। उनले आफूले विगतमा गरेका कामका आधारमा तनहुँका जनताले आफूलाई जिताउने विश्वास व्यक्त गरे।

काँग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले तनहुँको विकासका लागि आफू लाग्ने विश्वास व्यक्त गरे। काँग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिका सभापति उत्तम मिश्र, नेपाली काँग्रेसका  केन्द्रीय सदस्य ध्रुव वाग्ले, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, काँग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, काँग्रेस तनहुँका नेता समुन्द्र गोदारलगायतले तनहुँको विकासको खाका कोरेर निर्वाचनमा होमिनुपर्नेमा जोड दिएका थिए।