राजनीति

दिनेश कोईरालासहित कांग्रेसका विद्रोही नेता उपनिर्वाचनमा पार्टीका उम्मेद्वार उभिए जीतनारायणको पक्षमा

२५ चैत, चितवन । निर्वाचनमा पार्टीबाट विद्रोह गरेका नेपाली कांग्रेसका नेताहरुले उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउन आह्वान गरेका छन् । उनीहरुले एक अपिल प्रकाशित गरी नेपाली कांग्रेसको रुख चिन्हवाहक उम्मेदवारलाई विजयी गराउन आग्र्रह गरेका हुन् ।

विगतको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सघाएर पार्टीबाट विद्रोह गर्नुभएका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, गठबन्धनका विरुद्ध एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका पार्टीका केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेलले संयुक्त अपिल जारी गरेका हुन् ।

“नेपालको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक परिस्थिति निरन्तर जटिल बन्दै गइरहेको र मुलुक समस्यामा हुँदा त्यसको निकास नेपाली कांग्रेसले मात्र दिनसक्छ भन्ने तथ्य विगतदेखि वर्तमानसम्मको इतिहासले पुष्टि गरिसकेको छ”, जारी अपिलमा भनिएको छ ।

कांग्रेस कमजोर भयो भने देश समस्यामा फस्छ भन्ने फेरि पनि समयले प्रमाणित गरिसकेको भन्दै अपिलमा भनिएको छ, “मुलुकका गम्भीर समस्याको समाधानका लागि कांग्रेसमा समग्र एकता हुन आवश्यक छ ।”

उनीहरुलगायत विगतको निर्वाचनमा विद्रोह गरेका प्रायःसबै पार्टीमा एकढिक्का भएका छन् । यसअघिको आम निर्वाचनमा विद्रोह गरेपछि पार्टीले कारबाही गरे पनि आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सबै नेताहरू एक मत देखिएका छन् ।

चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा कांग्रेसबाट पूर्वसभापति जीतनारायण श्रेष्ठ उम्मेदवार छन् । कांग्रेस कमजोर हुँदा देश समस्यामा फस्छ भन्ने प्रमाणित भएको दाबी गर्दै उनीहरूले आफूहरू कांग्रेसका उम्मेदवारका पक्षमा उभिएको बताएका छन्। उनीहरूले विद्रोहका क्रममा सहयोग गर्नेहरूप्रति आभार प्रकट गर्दै पुनःकांग्रेस उम्मेदवारलाई जिताउन एक ढिक्का हुन अपिल गरेका हुन् ।

पार्टीको केन्द्रीय समितिले तत्कालीन सभापति सुशील कोइरालासँग चितवनमा बागी उम्मेदवार बनेपछि कारबाहीमा पर्नुभएका पूर्वजिल्ला सभापति विकास कोइरालाको कारबाहीसमेत फुकुवा गरेको छ । यससँगै कोइराला पनि पार्टीका उम्मेदवार जिताउन लागि परेका छन् ।


जिल्ला सभापति राजेश्वर खनालले यसअघिका निर्वाचनमा विद्रोह गरेर विभिन्न ठाउँमा उभिएका अहिलेको निर्वाचनमा सबै एक ठाउँमा उभिएको बताए ।