राजनीति

सरल रेखामा हिँडेन खगराजको राजनीति

९ वैशाख, काठमाडौं । खगराज अधिकारीको सत्ता संयोग नै संयोग जस्तै रह्यो । सुरुमा सांसदै नभइ स्वास्थमन्त्री पाए, पछि गुञ्जायसै नभएको गृहमन्त्री पाए तर १३ दिनमै हटे । प्रतिपक्षमा रहन तयार हुँदाहुँदै मुख्यमन्त्री भए तर साढे ३ महिना मात्रै मुख्यमन्त्री हुन पाए ।

काठमाडौं, १० वैशाख । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाउन सकेनन् ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण अधिकारीले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । तर, विश्वासको मत लिँदा उनले जम्मा २४ मत मात्रै पक्षमा पाए । यस्तै विपक्षमा ३५ मत पर्यो । प्रदेशसभामा भएको भोटिङमा जम्मा ५९ मत खसेको थियो । ६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवश्यक हुनेमा मुख्यमन्त्री अल्पमतमा परेका हुन् ।
यससँगै विश्वासको मतसम्बन्धी मुख्यमन्त्रीको प्रस्ताव अस्वीकृत भएको सभामुखले घोषणा गरे । अधिकारी गत पुस २५ गते एमालेसहित, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
तर, केन्द्रमा एमालेसहितको गठबन्धन परिवर्तन भएपछि गण्डकीमा समेत गठबन्धन परिवर्तन भएको थियो । गण्डकी प्रदेशमा गत चैत १० गते माओवादी केन्द्रले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारबाट हटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
केन्द्रीय राजनीतिक समीकरण फेरिएसँगै गण्डकी सरकार फेरिने भएको हो । तर, यसमा मुख्यमन्त्री खगराज अधिकारीको राजनीतिक जीवनमा भने उस्तै खाले नियत्ति दोहोरिन पुगेको छ । केन्द्रमा बदलिएको सत्ता समीकरणका कारण गण्डकीका मुख्यमन्त्री अधिकारी साढे तीन महिनामै सत्ताबाट हट्नुपर्ने परिस्थिति बनेको हो । यसअघि केन्द्र सरकारको गृहमन्त्री बनेका बेला उनी १३ दिनमै पदच्यूत भएका थिए ।
खगराज अधिकारीको राजनीतिक जीवनमा सत्ताका यी केही रोचक संयोग हुन् । यस्ता रोचक संयोग अरु पनि छन् । २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा खगराजले टिकट नै पाएनन् तर, त्यही बेला सत्तामा जाने सौभाग्य पहिलो पटक प्राप्त गरे । प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भए ।
२०७४ सालमा चुनाव जिते पनि नेकपा हुँदा सरकारको मन्त्री हुने अवसर खगराजले पाएनन् । एमाले–माओवादी मिलेर बनेको नेकपामा मन्त्री बन्ने कुनै गुञ्जायस नभएका खगराज नेकपा विभाजनको चरम उत्कर्षका बेला केपी शर्मा ओलीले गृहमन्त्री बनाए । जेठ २७ गते गृहमन्त्री बनेका खगराज १३ दिनमै पदच्यूत भए ।
संघ र प्रदेशमा ५ दलीय गठबन्धन सत्ता साझेदार हुँदै चुनावमा जाँदा मुख्यमन्त्रीको सपनासहित २०७९ को निर्वाचनमा खगराज प्रदेश झरे । एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायत नेताको साथ पाउँदा फेरि प्रदेशको मुख्यमन्त्री हुन चाहेका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई पछि पार्दै खगराजले प्रदेशको टिकट ल्याए ।
अघिल्लो चुनावका सहयात्री माओवादी सांसद दीपक कोइरालालाई हराउँदै खगराज कास्की–१ (१)बाट निर्वाचित भए तर एमाले नेतृत्वमा सरकार बन्ने सम्भावना देखेका थिएनन् । उनले एमाले प्रतिपक्षमै रहने बताइरहेका थिए । तर, केन्द्रमा एकाएक सत्ता समीकरण परिवर्तन भएर पुस १० गते एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएसँगै प्रदेशमा पनि एकाएक खगराज मुख्यमन्त्री बन्ने सम्भावनाको ढोका खुल्यो ।
एमाले, माओवादी, राप्रपा र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३३ सांसदको समर्थन जुटाएर पुस २५ गते खगराज मुख्यमन्त्री नियुक्त भए । पुस २९ गते नै मुख्यमन्त्री खगराजले विश्वासको मत लिएका थिए ।
तर, एमाले, माओवादी लगायत सत्ता गठबन्धनले खगराजलाई पूरै कार्यकालको मुख्यमन्त्री दिने भागबण्डा गरेको थियो । तर, केन्द्रमा समीकरण बदिलिएपछि उनी साढे तीन महिना मै सत्ताच्यूत हुन पुगे ।
अर्थात, खगराज अधिकारी सत्ता संयोग नै संयोग जस्तै रह्यो । सुरुमा सांसदै नभइ स्वास्थमन्त्री पाए, पछि गुञ्जायसै नभएको गृहमन्त्री पाए तर १३ दिनमै हटे । प्रतिपक्षमा रहन तयार हुँदाहुँदै मुख्यमन्त्री भए तर साढे ३ महिना मात्रै मुख्यमन्त्री हुन पाए ।