१८ जेठ, चन्द्रौटा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलामाथि हुने विभेद अन्त्य गर्नुपर्ने बताएका छन् ।
मन्त्री नियुक्त भएपछि पहिलोपटक गृह जिल्ला कपिलवस्तु आउनुभएका मन्त्री आचार्यले महिलालाई अब आत्मनिर्भर बनाउने गरी मन्त्रालयले काम गर्ने बताए । नेपाली कांग्रेस शिवराज नगर समितिले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री आचार्यले जिल्लामा विभिन्न परियोजना ल्याउने र त्यसमा स्थानीयवासीलाई रोजगारीको सुनिश्चितता गर्ने बताए ।
विकासमा पछि परेको कपिलवस्तुमा ठूला परियोजना ल्याई विकास गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताए । प्रदेश महामन्त्रीसमेत रहेका आचार्यले पार्टीलाई जनस्तरसम्म पुर्याउन कार्यकर्तालाई आग्रह गरे । आगामी निर्वाचनका लागि अहिलेदेखि नै तयारी गर्नुपर्ने भएकाले गाउँगाउँ पुग्नुपर्ने उनको भनाइ थियो । पैसाको बलमा निर्वाचन जित्ने परिकल्पना नगर्न आग्रह गर्दै मन्त्री आचार्यले जनताको पक्षमा काम गरेमा जनताले आफैँ निर्वाचित गराउने जनाए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति हुमाकान्त खनालले कपिलवस्तुले मन्त्री पाउनु गौरवको कुरा रहेको बताए । जिल्लाको समग्र विकासका लागि केन्द्रमा पहल गर्न मन्त्री आचार्यलाई आग्रह गरे ।





