राजनीति

फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री

३१ जेठ, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी क्रान्तिका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङद्वारा आज आयोजित अगुवा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरी पहलकदमी लिइएको बताएका हुन् ।

“समाजवादी क्रान्ति सिधा र सरल हुँदैन । यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ । विचार राजनीतिमा व्यापक छलफल, ठूलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ । त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ”, प्रधानमन्त्री दाहालले भने, “नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो । त्यो आत्मसमर्पण र विसर्जनको बाटो थिएन । समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो । त्यसका लागि उक्त एकता गरिएको थियो ।”

समाजवादी संयुक्त मोर्चाको वैचारिक दस्तावेजलाई अन्तिम रुप दिइएको जानकारी दिँदै उहाँले केही दिनमा मोर्चाको घोषणा हुने बताए। “हिजोको एकता कायम राख्न सम्भव भएन । तर, लाखौँ जनतालाई एकताबद्ध नगरी क्रान्ति हुँदैन”, अध्यक्ष दाहालले भने, “फेरि एकताका लागि पहल गर्नुपर्नेछ । समाजवादी मोर्चाको दस्तावेज टुङ्ग्याएका छौँ ।”

माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०, नेपाल समाजवादी पार्टी र जनता समाजवादी पार्टीलाई मिलाएर समाजवादी मोर्चा बनाइने उनको भनाइ छ । “केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ । तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ । एमालेमा पनि एकताका पक्षधर छन्, उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँछ । त्यहाँ मुख्य नेतृत्व नै मूल रूपमा एकताको बाधक देखिन्छ”, उनले भने।

जनताको ठूलो हिस्सालाई सङ्गठित गरेर मात्रै समाजवादी क्रान्ति सम्पन्न गर्न सकिने जनाउँदै उहाँले वामपन्थी र कम्युनिष्टबीच एकताको अभियान सञ्चालन गरिने बताए। “फेरि नेकपा बनाउने कोसिस भइरहेको छ । यसभित्र ठूलो अर्थ छ । जनताको ठूलो हिस्सालाई सङ्गठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न सकिँदैन”, प्रधानमन्त्री दाहालले भने, “यसलाई सबैले गम्भीररूपमा सोच्न जरुरी छ । देशका सच्चा वामपन्थी र कम्युनिस्टबीच एकताका लागि व्यापक बहस चलाउँछौँ ।”

नेपालमा परिवर्तनका लागि जनताले गरेको क्रान्ति नितान्त मौलिक खालको रहेको उल्लेख गर्दै उनले आफ्नै अनुभवमा क्रान्ति सम्पन्न भएको बताए। “हाम्रो क्रान्ति मौलिक र जीवन्त छ । हामीले किताबमा लेखेजस्तो होइन, आफ्नै जीवनको अनुभवका आधारमा क्रान्ति ग¥यौँ । हाम्रो क्रान्ति विश्वमै मौलिक खालको छ”, प्रधानमन्त्रीले दाहालले भने।

विश्व कम्युनिष्ट आन्दोलनका नेता लेनिनले क्रान्तिमा दुई कार्यनीतिको कुरा गरेको स्मरण गर्दै उनले नेपालमा लेलिनले भनेको जस्तो नभई मौलिक ढङ्गको क्रान्ति भएको बताए। “किताबमा लेखेजस्तो होइन, जीवनमा भोगेजस्तो क्रान्ति भयो”, उनले भने।

विसं २०७८ पुसमा सम्पन्न पार्टीको आठौँ महाधिवेशनको दस्तावेजले समाजवादी क्रान्तिको दिशानिर्देश गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसमा समाजवादको नेपाली विशेषता र मौलिकतासहित क्रान्तिको आधार तयार पार्ने संश्लेषण गरिएको बताए।

मुलुकमा सुशासन कायम गर्न, विकास निर्माण गर्न तथा जनआकाङ्क्षा पूरा गर्न सरकार दृढताका साथ लागेको जनाउँदै प्रधानमन्त्री दाहालले भ्रष्टाचार विरोधी अभियानमा कसैसँग सम्झौता नगरिने विश्वास दिलाए। “भ्रष्टाचारलाई निर्मूल पारेर नै देश निर्माण गर्न सकिन्छ, पार्टी पुनःनिर्माण गर्न सकिन्छ । भ्रष्टाचार नियन्त्रण गर्ने सवालमा हामी कसैसँग सम्झौता गर्दैनौँ”, उनले भने। नक्कली भूटानी शरणार्थी प्रकरणलाई तार्किक निष्कर्षमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै उनले अब भ्रष्टाचारसम्बन्धी प्रकरणको फाइल खोल्दै जाने बताए।

कार्यक्रममा सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारले गरेका कामबाट कार्यकर्ता र जनतामा उत्साह छाएको बताए। सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा सरकार दृढताका साथ लागिपरेको उनको भनाइ थियो ।