समाचार

बागलुङका ७७ मुहानको खानेपानीमा ‘कोलीफर्म’

२३ असार, गलकोट । बागलुङ जिल्लाका ७७ मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ रहेको पाइएको छ । जिल्लाका १० स्थानीय तहबाट दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी पानी परीक्षण गर्दा ७७ मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

हालैमात्र निसीखोला गाउँपालिका–६ भल्कोटमा झाडापाखला र टाइफाइड रोग फैलिएपछि खानेपानीको मुहान परीक्षण गर्दा कोलीफर्म भेट्टिएको कार्यालयले जनाएको हो ।

स्वास्थ्य कार्यालयले एक महिनाअघि नसीखोला गाउँपालिका–६ मा वितरण गरिएको तीन वटा खानेपानीको मुहानको पानी परीक्षण गर्दा तिग्रापानीमा रहेको मुहानमा कोलीफर्म भेट्टिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन डिल्ली आचार्यले बताए । उनका अनुसार निसीखोलामा मात्रै सात स्थानका खानेपानी मुहानको नमुना परीक्षण गरिएको छ ।

चालु आर्थिक वर्षमा दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी परीक्षण गरिएकामध्ये ७७ खानेपानीको मुल तथा धारामा कोलीफर्मको मात्रा देखिएको आचार्यको भनाइ थियो । “निसीखोला–६ मा अधिकांश विद्यार्थीमा झाडापखला र टाइफाइड जस्ता सरुवा रोग देखिएको थियो, स्वास्थ्य चौकीबाट धेरै विद्यार्थी बिरामी भएको जानकारी आएपछि भलकोटका विद्यालयमा वितरण गरेको खानेपानी परीक्षण गर्दा कोलिफर्म भेटिएको थियो”, उनले भने, “स्वास्थ्य कार्यालयले अहिले विद्यालयमा वितरण गरिरहेको खानेपानीको मुहान र धारामा परीक्षण गर्ने गरेको छ । जिल्लामा चालु आर्थिक वर्षमा ७७ खानेपानीका मुहान र धारोमा कोलीफर्मको मात्रा देखिएको छ ।”

आचार्यका अनुसार बागलुङ बजारमा नगरखानेपानीले वितरण गर्दै आएको रेशखोला र भुदीखोलाको मुहान र धारो दुवैमा कोलिफर्म फेला परेको छ । यहाँका करिब ६० हजार नागरिकले उक्त पानी उपभोग गर्दै आएका छन् ।

जिल्लाका नागरिकले उपभोग गर्दै आएको खानेपानीको अवस्थाका विषयमा जिल्लास्थित स्वास्थ्य कार्यालयले बर्सेनि परीक्षण गर्दै आएको कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए । परीक्षणका क्रममा पानी तथा मुहान दूषित देखिए उपभोक्तालाई सचेत गराउँदै आएको उनले बताए ।

कोलिफर्म देखिएका खानेपानीको मुहानमा सरसफाइ गरी किटनाशक औषधि प्रयोग गरेर मात्रै वितरण गरिने प्रमुख शर्माले बताए । एकपटक गरिएको परीक्षण र सरसफाइले मात्रै समस्या समाधान नहुने भन्दै उहाँले खानेपानी उपभोक्ता समिति बढी जिम्मेवार हुन आवश्यक रहेको जनाए ।