२३ असार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भैरवसिंह रावल स्मृतिग्रन्थको विमोचन गरेका छन् ।
भैरवसिह स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले कांग्रेसका कर्मठशील पुराना नेता भैरवसिंहको राजनीतिक जीवन र उनले राजनीतिक परिवर्तन र विकासका क्षेत्रमा पु¥याएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको कृतिको सार्वजनिकीकरण गरेका हुन् ।
सो अवसरमा पूर्वप्रधानमन्त्री देउवाले अछामलगायत समग्र सुदूरपश्चिम क्षेत्रमा विकासमा एकताबद्ध भएर काम गरौँ भनी स्व रावलले भन्ने गरेको घटना स्मरण गरे । उनले भने, “रावलजीको अछामलाई वेग्लै जिल्लाका रूपमा स्थापित गराउन ठूलो योगदान छ, सुदूरपश्चिम क्षेत्र विकासमा पछि परेकाले सबै मिलेर काम गरी अघि बढाउनुपर्छ भनी प्रेरित गरिरहनुभयो ।”
मुलुकमा लोकतन्त्रका लागि भएको राजनीतिक आन्दोलन र परिवर्तनमा उनले खेलेको भूमिका उच्च रहेको बताउँदै सभापति देउवाले देश र जनहितका लागि रावलले देखाएको बाटोमा अघि बढन सम्पूर्ण पार्टी कार्यकतालाई आह्वान गरे ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजनीति स्थिरता, स्पष्ट दृष्टिकोण, शान्ति र आवश्यक संशाधन भएमा देशले छोटो समयमै विकास र समृद्धिमा सफलता हासिल गर्न सक्ने बताए । उनले भने, “अहिले राजनीतिमा जसले जति अवसर पायो त्यति नै असन्तुष्ट रहेको देखिएको छ, कसले कति प्राप्त गर्ने र आकांक्षा कति राख्ने भन्ने विषय पनि चोटिलो बन्न पुगेको छ, यस्तो बेला स्व रावलबाट हामीले प्रेरणा लिनुपर्छ ।”





