असार ३०, काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक संसद्को यही अधिवेशनबाट पारित हुने दावी गरेका छन् ।
काठमाडौंमा शनिबार भएको कांग्रेसनिकट तमु संघ वाग्मती प्रदेशको भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री गुरुङले मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक रोक्न विभिन्न षड्यन्त्रहरू भइरहेको भन्दै अब त्यस्ता षड्यन्त्रले सरकारलाई रोक्न नसक्ने बताए ।
मिटरब्याज पीडितहरूलाई न्याय दिने विषयमा कांग्रेस र गठबन्धन सरकार प्रस्ट रहेको बताए । उनले नेकपा एमालेलाई लक्षित गर्दै भने, ‘सरकारले मिटरब्याज पीडितलाई न्याय दिलाउन अध्यादेश ल्यायो । तर त्यसलाई संसद्बाट प्रतिस्थापन विधेयक ल्याउन नदिन कसले कसरी षड्यन्त्र गर्यो ? त्यो सबैलाई प्रस्टै छ ।’
‘भ्रष्टाचारको फाइल खोल्न थालेको सरकार नै ढल्छ भनेर यताउता षड्यन्त्र भइरहेको छ । तर हामीलाई सरकारमा हौँला वा नहौँला भनेर चिन्ता छैन । हामी जनताको पक्षमा काम गर्न प्रतिबद्ध छौँ’, मन्त्री गुरुङले भने, ‘जसले जसरी षड्यन्त्र रचे पनि सरकार मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्न प्रतिबद्ध छ ।’





