राजनीति

पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको छ : सभापति देउवा

३० असा, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको भावना र मर्मअनुसार पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको बताएका छन् ।

तमू (गुरुङ) सङ्घ नेपाल बागमती प्रदेश भेलाको उद्घाटन गर्दै उनले कांग्रेसलाई एकताबद्ध र सुदृढ तुल्याउन सबै जातजाति र समुदायको सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री देउवाले भने, “मुलुकमा राजनीतिक परिवर्तनलगायतका आन्दोलनमा सबै समुदाय र जनजातिको उत्तिकै सहभागिता र योगदान छ, राज्यका संरचना र दलभित्र सबै ठाउँमा समावेशिता आवश्यक छ ।”

पार्टी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुशासन, आर्थिक समृद्धि र रुपान्तरणको पक्षमा दल र सरकारले काम गरिरहेको बताए ।

उनले भने, “मुलुक र जनताको विरुद्धमा रहेको भ्रष्टाचार न्यूनीकरणमा यो वा त्यो भनिने छैन । सुशासन कायम गर्दै जनतालाई सहज र सरलरूपमा सेवा प्रवाहलाई चुस्त तुल्याइने छ, दुई दिनभित्र मिटर ब्याजीसम्बन्धी विधेयक सदनबाट पारित हुन्छ ।”