राजनीति

देउवाकै अगाडी गगनले भने- मैले पार्टी फुटाउन होइन, संसदीय दलको नेता बदल्न लागेको हुँ

८ साउन, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस संसदीय दलको नेता बदल्नका लागि आफू लागिरहेको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री थापाले संसदीय दलको नेता बदल्न लागेको र सकेमा बदल्ने बताएका छन् ।

गाह्रो भए पनि संसदीय दलको नेता बदल्न लागेको उनले बताए । संसदीय दलको नेता फेर्न किन लागेको भन्ने प्रश्न नगर्न पनि थापाले सभापति तथा संसदीय दलका नेता देउवानिकटका नेताहरूलाई आग्रह गरेका छन् ।

उनले अघि भने, “मैले पार्टी फुटाउने कुरा गरेको हो र ? मैले त दलको नेता फेर्ने कुरा गरेको हो । म बदल्न लागिरहेको छु, सके बदल्छु नसके चुप लागेर स्विकार्छु ।”

मतदाताको बीचमा भोटिङ भए अर्कै कुरा हुनेथियो तर सांसदको मत पाउन झन् गाह्रो हुने उनले बताए । गाह्रो काम भनेर संसदीय दलको नेता परिवर्तन गर्ने अभियानबाट पछि नहट्ने उनले बताए ।