२८ साउन, काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक रहेको बताएका छन् ।
कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा नेता कोइरालाले नेपाललाई सुन तस्करीको अखडाबाट मुक्त गर्न उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक रहेको बताए । त्यस्तै, उनले नेकपा एमालेकै लाइनमा उच्चस्तरीय छानबिन समिति गठनको पक्षमा धारणा राखे ।
“सुन तस्करीका विषयमा हामी गम्भीर भएर सोच्नु आवश्यक छ । जो व्यक्ति प्रधानमन्त्रीको निजी सचिव थियो, उसलाई राजस्व अनुसन्धानको प्रमुख बनाएर ७ दिन अघि पठाइन्छ, ऊ जाने बित्तिकै सुन समातिएको छ”, उनले भने, “त्यसपछि त्यसको अनुसन्धान गर्न सीआईबीलाई दिन आनाकानी भएको छ । नेपाल सुन तस्करीको अखडा पहिल्यै भइसकेको छ । यसलाई रोक्ने हो भने उच्चस्तरीय छानबिन समिति बनाएर यसको जरोसम्मै छानबिन हुनु आवश्यक छ ।





