राजनीति

सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा हाम्रो पार्टीको साथ छ : विप्लव

२४ भाद्र, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ र सहयोग गर्ने स्पष्ट पारेका छन् ।

आज यहाँ आयोजित समाजबादी मोर्चा नेपाल बागमती प्रदेशको सन्देशसभालाई सम्बोधनका क्रममा उनले वर्तमान सरकारले जनताको पक्षमा काम गरिरहेको भन्दै सरकारलाई अझ सशक्त बनाउँदै जनपक्षीय काममा लाग्न सुझाव दिए ।

समाजबादी फोरमका नेता शिवलाल थापा मगर पहिचानबादीका नाममा आन्दोलन गर्नेलाई झुटा मुद्दा लगाइएको बताउँदै तत्काल रिहाइको माग गरे । संविधानमा उल्लेख भए बमोजिम स्थानीय भाषामा पठनपाठन गरिनुपर्ने र सोतर्फ वर्तमान सरकार लागेकोमा उनले धन्यवाद दिए ।

उनले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै थप फाइल खोल्न पनि सुझाए ।