२४ भाद्र, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले त्री-दिवसीय ऐतिहासिक “बिपी साहित्य महोत्सव-२०८०” को पानसमा दीप प्रज्वलन र वृक्षमा जल सिंचन गरी महोत्सवको उद्घाटन गरेका छन् ।
सभापति देउवाले किरण मानन्धरले क्यानभाषमा तयार गरेको लाईभआर्टमा रंग लगाएर चित्रकलाको सुरुवात गरे । देउवाले बिपीको राजनीतिक चिन्तन नै नेपाली कांग्रेसको मार्गदर्शन भएको कुरामा जोड दिंदै बिपीको बिचार कांग्रेसले मात्रै होइन नेपालका सबै राजनीतिक दल र अन्र्तराष्ट्रिय समुदायले समेत अनुकरण गरिरहेको र कांग्रेस आज सम्म बिपीकै बिचारको मार्गमा चलिरहेको बताए ।
त्यस्तै, उनले बागमती किनारमा रहेको बिपी पार्कमा रूद्राक्षकोे बृक्षारोपण समेत गरे । महोत्सवमा ११० वटा साना बेलुनको झुप्पो र पार्टी कार्यालय भवनको छतमा करिब ३० फिट माथि स्थायी रुपले रहने गरी बिपीको तस्वीर, चारतारे झण्डा, रूख र महोत्सवको लोगो अंकित १० वाई १० को बेलुन एक साथ उडाएर महोत्सवको उद्घाटन सम्पन्न भएको थियो ।
आज पाँच वटा विभिन्न विधामा कार्यक्रम संचालन भएको थियो । बिपीको साहित्य सिर्जना र जीवन दर्शनका विषयमा साहित्यकार अभि सुबेदी वक्ताको रुपमा थिए भने उक्त सम्भाषणको सहजिकरण सोझो गाउँलेले गरेका थिए ।
महामन्त्री विश्वप्रकाश शर्माले १ घण्टा सहजिकरण गरेको बिपीका दृष्टिमा बिपी भन्ने शीर्षकमा साहित्यकार भुवन ढुंगाना, प्राध्यापक कृष्ण खनाल, राजनीतिक विश्लेषक सि.के. लाल वक्ताका रुपमा छलफलमा सहभागी भएको थियो भने लाइभआर्ट विजय थापाले गरेका थिए ।
बिपीका आख्यानमा मनोविश्लेषणका विषयमा राम लोहनी, कोमल फुयाल र साधना प्रतिक्षा वक्ताका रुपमा थिए भने सहजिकरण दिपक ढकालले र लाइभआर्ट नगेनसिंह ठकुरीले गरेका थिए ।
साहित्यमा पर्यावरण शीर्षकमा अम्मराज जोशी, तीर्थबहादुर श्रेष्ठ र संगीता रायमाझी वक्ताका रुपमा थिए भने अर्चना थापाले सहजिकरण र किरण मानन्धरले लाइभआर्ट गरेका थिए ।
नेपालको मातृभाषा साहित्य शीर्षकमा बमकुमारी बुढामगर, अमृत योञ्जन र चन्द्र किशोर वक्ताका रुपमा थिए भने प्रकाश थाम्सुहाङले सहजिकरण र किरण सिगूले लाइभआर्ट गरेका थिए ।





