२४ भाद्र, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको एक सय १०औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको बिपी साहित्य महोत्सवको उद्घाटन तथा पहिलो दिनका कार्यक्रम भव्यरूपमा सम्पन्न भएका छन् । महोत्सव आज भदौ २४ देखि २६ गतेसम्म चल्नेछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको त्रि–दिवसीय ऐतिहासिक महोत्सवको उद्घाटन तथा अन्य कार्यक्रममा पार्टीका नेता कार्यकर्ताका साथै प्राज्ञिक तथा विद्वान बुद्धिजीवी, अध्येता एवं राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्नेलगायत व्यक्तित्वको बाक्लो सहभागिता थियो ।
महामानव बिपी कोइरालाको एक सय १०औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना, नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा महोत्सवको आयोजना गरिएको हो । कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान हाइजेकिङ फर डेमोक्रयासी चलचित्र अवलोकन पश्चात पानसमा दीप प्रज्वलन र वृक्षमा जल सिञ्चन गरी महोत्सवको उद्घाटन गरेका थिए ।
तत्पश्चात किरण मानन्धरले क्यानभासमा तयार गरेको लाइभआर्टमा सभापति देउवाले रङ लगाएर चित्रकलाको सुरुआत गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा सभापति देउवाले बिपीको राजनीतिक चिन्तन नै कांग्रेसको मार्गदर्शन भएको कुरामा जोड दिँदै बिपीको विचार कांग्रेसले मात्रै नभई नेपालका सबै राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायले अनुकरण गरिरहेको बताए ।
साथै उनले कांग्रेस आजसम्म बिपीकै विचारको मार्गमा चलिरहेको बताए । उद्घाटन मन्तव्यपछि सभापति देउवाले बागमती किनारमा रहेको बिपी पार्कमा रूद्राक्षकोे बिरुवासमेत रोपेका थिए । महोत्सवमा एक सय १० वटा साना बेलुनको झुप्पो र पार्टी कार्यालय भवनको छतमा करिब ३० फिट माथि स्थायीरूपले रहने गरी बिपीको तस्बिर, चारतारे झण्डा, रूख र महोत्सवको लोगो अङ्कितको बेलुन एक साथ उडाएर महोत्सवको उद्घाटन गरिएको थियो ।
उद्घाटन समारोहको सञ्चालन सहमहामन्त्री तथा बिपी साहित्य महोत्सव–२०८० का संयोजक बद्रीप्रसाद पाण्डेले गरेका थिए । आज पाँच वटा विभिन्न विधामा कार्यक्रम सञ्चालन भएको थियो । बिपीको साहित्य सिर्जना र जीवन दर्शनका विषयमा साहित्यकार अभि सुवेदी वक्ताको रूपमा थिए भने उक्त सम्भाषणको सहजीकरण सोझो गाउँलेले गरेका थिए ।
महामन्त्री विश्वप्रकाश शर्माले एक घण्टा सहजीकरण गर्नुभएको ‘बिपीका दृष्टिमा बिपी’ भन्ने शीर्षकमा साहित्यकार भुवन ढुङ्गाना, प्राध्यापक कृष्ण खनाल, राजनीतिक विश्लेषक सिके लाल वक्ताका रूपमा छलफलमा सहभागी हुनुभएको थियो भने लाइभआर्ट विजय थापाले गरेका थिए ।
‘बिपीका आख्यानमा मनोविश्लेषण’का विषयमा राम लोहनी, कोमल फुयाल र साधना प्रतीक्षा वक्ताका रूपमा हुनुहुन्थ्यो भने सहजीकरण दीपक ढकालले र लाइभआर्ट नगेनसिंह ठकुरीले भएको थियो । यसैगरी ‘साहित्यमा पर्यावरण’ शीर्षकमा अम्मराज जोशी, तीर्थबहादुर श्रेष्ठ र सङ्गीता रायमाझी वक्ताका रूपमा थिए भने अर्चना थापाले सहजीकरण र किरण मानन्धरले लाइभआर्ट गरेका थिए ।
‘नेपालको मातृभाषा साहित्य’ शीर्षकमा बमकुमारी बुढामगर, अमृत योञ्जन र चन्द्र किशोर वक्ताका रूपमा हुनुहुन्थ्यो भने प्रकाश थाम्सुहाङले सहजीकरण र किरण सिगूले लाइभआर्ट गरेका थिए । साँझ कविहरूले कविता वाचन गरेको थियो भने त्यसको सहजीकरण हेमप्रभासले गरेका थिए । विभिन्न सत्रहरूको बीचमा सांस्कृतिक झाँकीहरू समेत प्रदर्शन गरिएको थियो ।




