८ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सरकारले गति लिन खोज्दा ब्रेक लागेको टिप्पणी गरेका छन् ।
सोमबार जारी केन्द्रीय समितिको बैठकमा बोल्दै कानुन न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका गुरुङले सरकार अघि बढ्न खोज्दा हातखुट्टा बाँधिएको बताएका हुन् ।
उनले अघि भने, “म त्यही मन्त्रिपरिषदको मन्त्री हुँ । तर बीच बीचमा ब्रेक लाग्छ, अपर्झट ब्रेक लाग्छ । एकदम सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा अब कुदयो है भन्ने लाग्छ । त्यसपछि हावाकावा चल्छ, ब्रेक लाग्छ । बडो चिन्ताको विषय छ ।”
“निवेदन छ सभापति महोदय, यसरी एकदमै छिटो दौडिन खोज्दा हातखुट्टा बाँधियो भने सरकार अगाडि बढ्न सक्दैन”, उनले भने, “गर्न खोजेको, मनले ताकेको, आँटेको काम सहज ढंगबाट गर्न नसकिरहेको अवस्था छ ।”
सरकारले भ्रष्टाचारका फाइल खोल्न थालेपछि सरकार ढल्ने कुरा आउने गरेको भन्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई नै प्रश्न गरे । “जब हामी भ्रष्टाचारका काण्डहरु एकपछि अर्को खोल्दै जान्छौं तब फेरि यो गठबन्धन भत्किने कुराहरु आउँछन् । सरकार ढाल्ने कुराहरु आउँछन् । किन यसो भइरहन्छ सभापति महोदय ? किन यस्ता आवाजहरु उठिरहन्छ ?’, कानुनमन्त्री गुरुङले प्रश्न गरे ।





