राजनीति

चीन भ्रमणले दुई देशको सम्बन्ध थप उचाइमा : प्रधानमन्त्री

१४ असोज, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पछिल्लो चीन भ्रमणका क्रममा भएका छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको बताएका छन् । उनले विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धतासमेत सो अवसरमा व्यक्त भएको उल्लेख गरे ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले चीनका राष्ट्रपति सि चिनपिङले गर्नुभएको भ्रमणपछि नेपालबाट गरिएको पहिलो उच्चस्तरीय भ्रमणका रुपमा आफ्नो चीन भ्रमण भएको उल्लेख गरे ।

“कोभिड–१९ महामारीका कारण लामो समयदेखि उच्चस्तरमा कुनै भ्रमण नभएका सन्दर्भमा मेरो भ्रमणले नेपाल र चीनबीच आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबीच रहिआएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास लिएको छु”, प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही सेप्टेम्बर १७ देखि २१ सम्मसंयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी भई सम्बोधन गरेका थिए । सो सम्बोधनपश्चात् सेप्टेम्बर २३ देखि ३० सम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी उनी यही असोज १३ गते स्वदेश फर्केका हुन् ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन र चीनका प्रधानमन्त्री लि छियाङको निमन्त्रणमा चीन भ्रमणमा जानुअघि पनि आफूले सदनलाई जानकारी गराएको प्रधानमन्त्रीले उल्लेख गरे ।

चीन भ्रमणका दौरान चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग सारभूत पक्षमा भएको छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको तथा विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे ।

चीनका महामहिम राष्ट्रपति र प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता र छलफलका क्रममा चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित रहनुपर्नेमा आफूले राखेको धारणाप्रति उनीहरुले पूर्ण समर्थन रहने बताएको प्रधानमन्त्री दाहालले जानकारी दिए ।

उच्चस्तरीय भेटमा नेपालको उत्तरी सीमा क्षेत्रमा चीनतर्फबाट प्रसारण लाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भूभागमा केन्द्रीय विद्युत प्रसारण प्रणालीबाट विद्युत्को पहुँच पु¥याउन नसकिने स्थानमा सौर्य प्रणाली जडान गर्ने विषयमा सहमति भएको प्रधानमन्त्री दाहालले सदनलाई जानकारी गराए ।

यस्तै, विभिन्न सडक निर्माण तथा स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरुद्ध भएका साथै परम्परागत सीमानाकाको पुनःसञ्चालन, सीमानाकामा नेपालतर्फ पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माणजस्ता पूर्वाधार विकासका विषयमा छलफल केन्द्रित भएको उहाँको भनाइ छ ।

यसैगरी नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नुका साथै विज्ञान र प्रविधिका क्षेत्रमा सहकार्य गर्ने, द्विपक्षीय व्यापार विस्तार गर्ने सम्बन्धमा समेत विस्तारपूर्वक छलफल भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे ।

“नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको र नेपाल–चीनबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्त, असल मित्रता, आपसी साझेदारी र सम्मान तथा अन्तर्राष्ट्रिय मूल्यमान्यता र कानुनमा आधारित रहेको पृष्ठभूमिमा भविष्यमा यो सम्बन्धलाई थप उचाइमा लैजाने दिशातर्फ दुवै पक्षले गर्नुपर्ने कार्यका बारेमा छलफल भयो”, प्रधानमन्त्री दाहालले भने ।

चीन भ्रमणका समयमा चीनको हाड्झाउमा विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुख एवं उच्चस्तरीय प्रतिनिधिसमेतको उपस्थितिमा चीनका राष्ट्रपतिले गरेको उद्घाटन समारोहमा सहभागी भई नेपाली खेलाडीहरुको हौसला बढाउने अवसर प्राप्त भएको प्रधानमन्त्री दाहालले जानकारी दिए ।

हाइझाउ र बेइजिङमा भएका बैठक र छलफलका अलावा चीनको छोङछिङ, चीनको स्वाशासित क्षेत्र तिब्बत र छन्दुकोसमेत भ्रमण गरी द्विपक्षीय सम्बन्धका बारेमा विभिन्न तहमा छलफल भएको थियो ।