राजनीति

कांग्रेसका मन्त्रीहरु फिर्ता बोलाऔं : महामन्त्री थापा

१४ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारबाट पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने प्रस्ताव गरेका छन् ।

आइतबार कांग्रेस रुपान्तरण अभियानले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले पुष्पकमल दाहाल र माधव नेपालले सरकारको नेतृत्व गर्दा समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन दिनुपर्ने प्रस्ताव गरेका हुन् ।

उनले भनेका छन्, “म त के प्रस्ताव गर्छु भने यो दुई अढाइ वर्ष उहाँहरुले सरकार बनाउने कुरा छ । पहिला पुष्पकमल दाहाल र त्यसपछि माधव नेपाल, एउटै मोर्चा छ, पार्टी एउटै बनाउने भन्नुभएको छ । मलाई लाग्छ कांग्रेसका सबै मन्त्री फिर्ता बोलाऔं ।”

प्रधानमन्त्री पुष्पकमल दाहालपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले सरकारको नेतृत्व गर्ने सत्तारुढ दलबीच सहमति भएको थियो। त्यहि सहमतिअनुसार १० सिटको पार्टीका अध्यक्ष नेपाल प्रधानमन्त्री बन्ने पालो आउन लागेपछि महामन्त्री थापाले बिरोध गर्न थालेका हुन् ।