१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले संविधान दिवसका दिन गरिएको कैद माफी मिनाहाका विषयमा सरकारसँग जवाफ मागेका छन् ।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महामन्त्री थापाले कैद माफी मिनाहाका विषयमा उठेका प्रश्नको सरकारले जवाफ दिनुपर्ने बताए । सार्वजनिक रुपमा विरोध भएको सरकारको उक्त निर्णयका विषयमा संसदलाई जवाफ दिनुपर्ने उनले बताए ।
“सरकारले संसदमा उभिएर हामीलाई बताउनुपर्छ, त्यो फेस गर्नुपर्छ, जवाफ दिनुपर्छ । निर्णय गरेर भाग्न पाइँदैन, यत्रो सार्वजनिक प्रश्न उठेको छ”, महामन्त्री थापाले भने । सरकारले संसदले बनाएका कानुनको अपब्याख्या र दुरुपयोग गरेर कैद माफी मिनाहा दिएको भन्दै उनले सभामुखले अग्रसरता लिएर ती सबै कानुनलाई संसदमा ल्याएर कैद छुटका विषयमा एकीकृत र छिद्र नहुने गरी कानुन बनाउनुपर्ने बताए ।
“हामीले बनाएको कानुनको स्वेच्छाचारी प्रयोग भएकोले सबै कानुन फिर्ता ल्याएर त्यसलाई एउटै कानुन बनाउनुपर्छ । यस्तो होस् कि जसले गर्दा भोलि गएर कसैले अपब्याख्या गर्न नसकोस्”, उनले भनेका छन् । अहिले संसदले कानुन संशोधन नगर्ने हो भने आगामी फागुन ७ मा पनि सरकारले कानुको अपब्याख्या गरेर कैद छुट दिन सक्ने उनले बताए ।





