७ भदौ, तेहरान । इरानका नवनियुक्त विदेशमन्त्री अब्बास अराग्चीले युरोपेली सङ्घ ईयू का शीर्ष कूटनीतिज्ञसँग टेलिफोन वार्तापछि द्विपक्षीय समस्या समाधानका लागि वार्ता गर्न आह्वान गरेका छन् ।
“इस्लामिक गणतन्त्र इरानले पारस्परिक सम्मानमा आधारित वातावरणमा युरोपेली संघसँगको सम्बन्धविकासको स्वागत गर्दछ,” अराग्चीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
हालैका वर्षहरूमा युरोपेली सङ्घ र इरानबीचको सम्बन्ध बिग्रिएको छ ।
तेहरानले आफ्नो आणविक गतिविधिमा लगाम लगाउन असफल भएको, प्यालेस्टाइनी लडाकू समूह हमासलाई सहयोग गरेको, युक्रेनमा रूसको युद्धलाई समर्थन गरेको र मानवअधिकार उल्लङ्घन गरेको आरोप ईयू लगाएको छ ।
अराग्चीले भने, “सम्बन्धको विकासका लागि दुई पक्षबीचको समस्या समाधान गर्न र युरोपेली देशहरूको भ्रामक नीतिहरूको सुधारगर्न संवादको आवश्यक पर्छ ।”
यसैबीच, ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले सामाजिक सञ्जाल एक्समा आफूले आफ्ना इरानी समकक्षीसँग ‘पारस्परिक हितका सबै फाइलमा नयाँ संलग्नताका सम्भावनाबारे’ छलफल गरेको बताएका छन्।
उक्त छलफलमा युक्रेन र आणविक अप्रसारविरुद्ध रूससँगको सैन्य सहयोगलाई रोक्नुका साथै तनाव कम गर्ने र संयमता अपनाउने विषयमा छलफल भएको उनले बताए ।
बोरेलले क्षेत्रीय तनाव कम गर्न यस्तो ‘महत्वपूर्ण वार्ता’ आवश्यक रहेको बताएका छन् ।
तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हनिया र बेरुतमा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएपछि इरान र उसको लेबनानी सहयोगी हिजबुल्लाहले इजरायलविरुद्ध प्रतिशोधको धम्की दिएका थिए ।
बुधबार पदभार ग्रहण गरेका अरागची पश्चिमा मुलुकप्रतिको खुलापनका लागि चिनिन्छन्।
उनले सन् २०१५ मा इरानको तर्फबाट मुख्य आणविक वार्ताकारको रूपमा काम गरेका थिए । उनले इरानको आणविक गतिविधिलाई नियन्त्रण गर्नको लागि एक सम्झौतामा पुग्न महत्वपूर्ण भूमिका खेलेका थिए।
सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौता रद्द गरेका थिए भने सन् २०२२ देखि यसलाई पुनर्जीवित गर्ने प्रयास भएपनि अहिलेसम्म असफल भएको छ ।





